काठमाडौँ, पुस २९ गते ।

बालश्रमका लागि हुने मानव बेचबिखन न्युनिकरणका लागि स्थानीय तहले आफ्नो क्षेत्रका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ ।

महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समूह नेपाल(एटविन)द्वारा विहिवार राजधनीमा आयोजित बालश्रमका लागि हुने मानव बेचबिखन अन्त्यका लागि सरोकारवालासँग वकालत कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले कार्यपत्र प्रस्तुत गर्दै बालश्रमको अन्त्यका लागि ल्याइएका नीति मात्र पर्याप्त हुन्न, बजेटसहितका कार्यक्रम पनि ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सिमा नाकामा हुने बालश्रमका लागि मानव बेचबिखन विरूद्धको अभियानमा नेपाल÷भारतका जिम्मेवार अधिकारी र सरोकारवालासँग सहकार्य र छलफल गरिएको बताउनुभयो ।

एटविनका अध्यक्ष तारा भण्डारीले बालश्रमका लागि सिमा पारी लैजाने घटनासँगै राजधानी तथा सहरी क्षेत्रमै आन्तरीक रूपमा भइरहेको बेचबिखनको घटनाबाट किशोरीहरू प्रभावित भइरहेको बताउनुभयो ।

उहाँले बालबालिकालाई जोखिमपूर्ण श्रममा कम तलबमा धेरै समय काममा खटाउने मात्र होइन, यौन शोषण समेत गरेर किशोरीमाथि श्रम र यौन दुव्र्यवहार भइरहेको बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद् सुनिता शाहले बालबालिकालाई जोखिमपूर्ण श्रममा परेर उद्धार गर्दा पुनस्थार्पना तथा संरक्षणका लागि बालगृहसँग समन्वय गर्न परिषद्ले सहयोग गर्ने बताउनुभयो ।

उहाँले बालगृहकै नाममा गाउँ–गाउँबाट बालबालिकालाइ राजधानी ल्याउने प्रवृत्ति विरूद्ध पनि परिषद्ले कार्वाही गरेको बताउनुभयो ।

उहाँले पढाइदिन्छु भन्दै बालबालिका लिन आउनेसँग अभिभावक सचेत हुनुपर्ने र आफ्नो क्षेत्रबाट बालबालिकालाई कतै लैजादा स्थानीय तहले पनि चासो देखाएर सोधपुछ गरेमा बालबालिका जोखिमपुर्ण श्रममा पुग्ने सम्भावनामा न्युनिकरण गर्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया