दशैंको मुखैमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी रहँदा आएको ट्रेलरले दर्शकबीच उच्च उत्साह जगाएको छ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा देखिएका छन्। उनको कमेडी टाइमीङले ट्रेलरमै दर्शकलाई पेट मिचिमिची हसाउँछ भने अर्कोतर्फ राजनीतिक व्यङ्ग्य पनि बलियो रूपमा प्रस्तुत गरिएको छ। नेपालकै वर्तमान सन्दर्भलाई छोएको यस पक्षले दर्शकलाई सोच्न पनि बाध्य पार्ने देखिन्छ।

फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

मोहित वंश आचार्य र सरोज ओलीको संयुक्त निर्माणमा तयार भएको ‘हरिबहादुरको जुत्ता’ एसएम मोसन पिक्चर्सको व्यानरमा बनेको हो। कृष्णबहादुर थापाले छायांकन, नहकुल खड्काले सम्पादन गरेका छन् भने संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको योगदान छ।

असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मलाई दशैंमा पारिवारिक मनोरञ्जनको उत्कृष्ट विकल्पका रूपमा हेरिएको छ। हरिवंश आचार्यको लोकप्रिय पात्र ‘हरिबहादुर’ फेरि पर्दामा फर्कन लागेको हुँदा दर्शकले यसपटक पनि उनलाई खुलेर रुचाउने निश्चित देखिन्छ।

तपाईको प्रतिक्रिया