काठमाडौं महानगरपालिकाले नाइट क्लब, दोहोरी साँझ तथा डान्सबारहरुलाई मनोरञ्जन कर तिर्न निर्देशन दिएको छ । १५ दिनको समयसीमा दिँदै महानगरको राजस्व विभागले ठमेलका मनोरञ्जन व्यवसायीहरुलाई कर तिर्न भनेको हो ।
विभागले तीन दर्जन बढी क्लब, दोहोरी साँझ र डान्सबारलाई पत्राचार गर्दै तोकिएको समयभित्र कर नतिरेमा महानगरको आर्थिक ऐनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ ।
सो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए । उनले भने,‘हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौं । यस अवधिमा कर तिर्नुभएन् भने काठमाडौं महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारबाही हुनेछ । ऐनमा आपतकालीनबाहेकका सेवासुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकीसरह असुल गर्ने व्यवस्था छ ।’
काफ्लेका अनुसार रिफ्रेस डान्सबार, नटराज डान्सबार, आरके डान्सबार, कारटार डान्सबार, ड्रिडक होस्टन डान्सबार, होनि वी डान्सबार, स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पपबार, द क्लब हाउस, घामछायाँ रोधी क्लब, बेबो डान्सबार, टाकिला डान्सबार, क्वीनमहल डान्सबार, ओमनिया क्लब, भीआईपी क्लब, नसा डान्सबार, स्काई डान्सबारलाई पत्राचार गरिएको छ ।
त्यस्तै, एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, कराओके, टप राजधानी दोहोरी, मुजुरा डान्सबार, ठमेल डान्सबार, डान्सिङ् याक बार, वियर बार डान्सबार, रोज डान्सबारलगायतलाई पनि कर तिर्न निर्देशन दिइएको छ ।










