बादी समुदायको कथामा आधारित नेपाली फिल्म ‘लालीबजार’को मंगलबार साँझ तय गरिएको प्रिमियर अन्तिम समयमा रद्द गरिएको छ। अदालतको अन्तरिम आदेश आएपछि प्रदर्शनअघि नै प्रिमियर कार्यक्रम रोकिएको हो।

वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गरिएको यस फिल्ममाथि मंगलबार नै अदालतले रोक लगाउने आदेश जारी गरेको छ। रिलिज हुन तीन दिनअघि आएको यस निर्णयले फिल्म निर्धारित मितिमा प्रदर्शन हुने वा नहुनेबारे अन्योल सिर्जना गरेको छ। नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको फिल्मले बादी समुदायको जीवनकथा प्रस्तुत गर्दै ‘नथिया कुप्रथा’ जस्तो संवेदनशील विषय उठाएको निर्माण पक्षको दाबी छ। तर, सोही विषयवस्तुले विवाद निम्त्याएको छ। फिल्मले बादी समुदायको चरित्रलाई नकारात्मक रूपमा चित्रण गरेको आरोप लगाउँदै रोशनी नेपालीले अदालतमा रिट दायर गरेकी थिइन्।

अदालतले दुवै पक्षलाई वैशाख २२ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। आदेशको पालना गर्दै निर्माण टिमले प्रिमियर कार्यक्रम स्थगित गरेको जनाएको छ। यम थापाको लेखन तथा निर्देशनमा तयार भएको ‘लालीबजार’ षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो। अब अदालतको आगामी निर्णयले फिल्मको भविष्य टुंगो लगाउने देखिएको छ।

तपाईको प्रतिक्रिया