- सन्तोष थेबे

अभिव्यक्तिको आफ्नै भाषा र सौन्दर्य हुन्छ। कलासाहित्यका विविध विधा यसैकारण भिन्न स्वभाव र स्वादमा रहन मन पराउँछन्। यस अर्थमा कबिताको पनि मौलिक भाषा, कला, अभिव्यक्ति र सीमा हुन्छन्। यिनै कुराले कवितालाई अरू विधाभन्दा पृथक् अस्तित्वमा राख्छ। सन्दर्भ हो, कवि इन्दु नेपाल योञ्जनको पहिलो कविता–कृति ‘अन्तिम सेलो’।

कविले कवितामा प्रत्यक्ष–परोक्ष रूपमा यिनै कुराको वकालत गरेका छन्। यसो भएर उनको यो नवीन कृतिले कविता यात्राको एउटा आसलाग्दो बाटो खनेको छ। कविले कविताहरूलाई दुई खण्डमा बाँडेका छन्– ‘सेमला माया र तक्मारे’ अनि ‘जीवन र जगत्’। जसमा कविले निकै सचेत भएर दुई भिन्न प्रवृत्ति, प्रकृति, स्वभाव र स्वादलाई कविताको मिठो भाषाबाट बोलेका छन्। यसो हुनुमा उनको प्रकृतिप्रदत्त स्वभाव, अध्ययन र चिन्तनले गहिरो
भूमिका खेलेको छ। स्रष्टा उनको समाज, देश, विश्वलाई हेर्ने र मन्थन गर्ने चक्षु पृथक् छ। धारिलो छ।

पहिलो खण्डका कविता जाति, भाषा, सौन्दर्य उजागर गर्न प्रतिनिधि साबित भएका छन्। अझै कविताको कथ्यले खोतलेको ऐतिहासिक पृष्ठभूमिले धेरै कुरा भन्छ। कवितामा तरंगित भावहरूले पाठकलाई एकपल्ट सोच्न लगाउँछ।

कवितामा कहिलेकाहीँ कविता लेख्नु प्राविधिक पक्ष हुन्छ। तर, त्यसको कथ्यलाई न्याय गर्न कविमा अतिरिक्त अध्ययन अनुभवजस्ता कुराको खाँचो पर्छ। कविको मातृभाषामाथिको पकड, क्षेत्रीयता, स्मृति, घटनालाई कविताको भाषामा व्यक्त गर्ने चेत झरिलो छ।

यस मानेमा कवि फरक र सशक्त देखिन्छन्।

कला साहित्यमा आफ्ना कुराहरू वैश्विक तहमा दिन सकियो भने सर्जक सार्थक बन्छ। जीवन्त रहन्छ। पहिचान स्थापित हुन्छ। कवि खण्ड एकमा यस्तै चेतनाबाट निर्देशित भएर कवितामा निजी भाष्य बनाउन उद्यत् देखिन्छन्। धेरैका धेरै कविता संग्रह गहिरोसँग पढ्दा निष्कर्षमा पुग्न सक्छौं कि ती सबै संग्रहमा केही कवितामात्रै अब्बल हुन्छन् र बाँकी सीम–चाहारमै सीमित। इमान्दार भएर भन्नुपर्दा ‘अन्तिम सेलो’ कविता संग्रह पनि यो मान्यताबाट अछुतो छैन।

त्यसैले भनिएको होला– कबिता लेखन लामो साधना र निरन्तरताको प्रतिफल हो। अर्को महŒवपूर्ण कुरा— लेखिएका सबै कविता गतिला हुँदैनन्। कुन समय, कालखण्ड, परिस्थिति, मनस्थितिमा लेखिएको हो, त्यसमा भर पर्छ। उता पाठकको हकमा पनि यही कुरा लागू हुन्छ। त्यसै पनि कविता लेखनदेखि पठन र बोध गर्ने कुराहरू सरल एवं सहज हुँदै होइन। अब यसका खास स्रष्टा र खास पाठक हुन्छन्।

पहिलो खण्डका कविताहरू प्रिय थेबा, तक्मारे खोलाको वियोगान्त कथा, सिमानामा आसेङ, आरा धरान, कान्छा आखेले प्रतिनिधि स्वर निकाल्छन्। अन्य केही कविता पनि जीवन्त छन्, अर्थात् संरचनागत पक्ष आकर्षक छ। यिनीहरूले बोलेका कथ्यहरूमा कवि समय बोल्छन्। यी कवितामा कविका चेतनाका झिल्का देखिन्छन्। कविताहरूमा आएको पहिचान, क्षेत्रीयता, भाषा, संस्कृतिका बिम्बहरूले कवितालाई दह्रो टेको दिएर एक उचाइ दिएको छ।

‘प्रिय थेबा’ कविताको उठानले खिच्छ पाठकको मन। नपत्याए यी लाइनहरूमा एक नजर लाउनु होस्। कति जीवन्त चित्र छ। स्मृतिमा प्रगाढ रहने–
मकै गोड्दै
वैशाखे मेला
आउने दिन गन्दै
मुस्कुराउँछे डोल्मा
माथि कोक्सा गङको टुप्पोमा
फुलेको गुराँस जस्तै।
त्यस्तै, ‘तक्मारे खोलाको वियोगान्त कथा’को बैठानले छुन्छ मन–
तिम्रो लुङ्दरको प्रत्येक रङभित्र
ताम्सालिङको सपना दिनदहाडै देख्न
खै कैलेसम्म बाँच्नु ?
यो तक्मारे खोलाको वियोगान्त कथा सुन्दै।

पढ्दै जाँदा कविताले मनको भित्री तहमा लगेर रसस्वादन गराउँछ। त्यस्तै ‘माया’ कवितामा कविले ‘प्लेटोनिक लभ’लाई निकै घतलाग्दो तवरले पेस गरेका छन्।

यस खण्डको अर्काे उल्लेखनीय एवं गर्विलो पक्ष भनेको कविले मातृभाषाका सुन्दर बिम्ब, कथ्य, जीवनशैलीलाई कविताको भाषा प्रयोग गरेर राष्ट्रभाषा एवं राष्ट्रिय भाषाबीचको सेतुलाई जोड्ने काम गरेका छन्। जसले हाम्रै भाषाको उन्नति र श्रीवृद्धिमा ठूलो योगदान दिएको छ। जुन युगको माग पनि हो।
अर्को यसैमा सुन्दर पक्ष भनेको कवि आफू जन्मेको, हुर्केको ठाउँ, पात्र, भूगोल, खोलानाला, खर्क, चरा, वनजंगल, जनावरलाई यति प्रेम गर्छन् कि उनी जता गए पनि आफैंसित लिएर हिँड्छन्। स्रष्टामा यो खुबी र गुण खोजिन्छ।

दोस्रो खण्डका कविता ‘काका एक’ र ‘काका दुई’मा कवि राजनीतिक आस्था धराशायी भएको दारुण अवस्थालाई पनि कटाक्ष गर्छन्। कविताहरू ‘बाटो एक’ र ‘बाटो दुई’मा कविले क्रमशः देश अधोगतिमा धकेलिएको र आफू चिकित्सा पेसामा लाग्दा देखिएका मार्मिक घटनाहरूलाई नजिकबाट नियालेर कलात्मक रूपले प्रस्तुत गरेका छन्। कविता ‘प्रश्नको वाण’ले पनि नेपालको चिकित्सा क्षेत्रको दयनीय अवस्थालाई प्रहार गर्छ –
सर यति भनिदिनुहोस्
मेरो बच्चा बाँच्छ वा बाँच्दैन ?

‘मलामी’ कविता समकालीन नेपाली समाजको मानवीय मूल्यहरू ह्रास भएको अवस्थालाई नजिकबाट चित्रण गर्न सफल छ–
जेठा छोराले खाडीमा खबर पायो
नातिनी–ज्वाइँले कोरियामा खबर पायो
तर मलामी पाएनन्।

कवितामा कमजोरी र दुर्बल पक्षहरू पनि होलान्। एक बसाइको पठनबाट सायद खुट्ट्याउन गाह्रो होला। पाठक सबैमा मनन् गर्ने स्वतन्त्रता छ नै। बाँकी संग्रहले बोल्नेछ।

तपाईको प्रतिक्रिया