काठमाडाैं। प्रणय दिवसको अवसर पारेर गीतकार सविता बस्नेत दानीले आफ्नो तेस्रो गीत ‘मीरा’ सार्वजनिक गरेकी छिन्।
प्रेमिल भावमा लेखिएको यो गीतमा संगीत चिरपरिचित संगीतकार गैरे सुरेशले भरेका छन् भने अहिलेकी चिरपरिचित गायिका बिनिशा पौडेलले स्वर दिएकी छिन्।
“आफूले कसैलाई हृदयदेखि नै माया गरिन्छ भने उसले आफूलाई माया गरोस् नगरोस् केही मतलब हुँदैन जब सम्म आफूले उसलाई प्रेम गरिन्छ तब सम्म प्रेम रहिरहन्छ पवित्र मनले गरेको प्रेमले आफू मरेर गए पनि उसको भलो चाहिरहन्छ उ खुसी सुखी भइदियोस् भन्ने चाहना राख्छ” भन्ने भावमा लेखिएको गीतमा नरेन्द्र वियोगीले एरेन्जरको रुपमा काम गरेका छन्।
पौराणिक पात्र ‘मीरा’ लाई प्रेम र आस्थाको प्रतिकको रुपमा लिइन्छ। मीरा, पुरुष वा महिला जो कोही पनि हुन सक्छ। पुरुषको लागि कुनै महिला मीरा हुन सक्छिन् भने महिलाको लागि कुनै पुरुष मीरा बन्न सक्छ। जसको प्रेममा समर्पण भावना छ, आस्था छ र प्रेममा प्रप्तिको आशा छैन भने उ नै मीरा हो।
गैरे सुरेश अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा शिला गजुरेल र विशाल थापाको अभिनय रहेको छ। सन्दीप भुजेलले निर्देशन गरेको उक्त भिडियाको सम्पादन ओम प्रसाईले गरेका छन्।
गीतकार सविता बस्नेत दानीले यस अघि दुई वटा गीत ‘चर्केकै मुटुमा’ र ‘आफ्नै ठानेर हो प्रिय’ भन्ने गीत बजारमा ल्याइसकेकी छिन्। कथा, कविता तथा वाल साहित्यमा कलम चलाउँदै आएकी बस्नेत शैक्षिक क्षेत्रमा आवद्ध हुनुका साथै डिसी नेपालको ‘सानो संसार’ नामक बाल कार्यक्रमकी संचालिका समेत रहेकी छिन्।
सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा परिचित गैरे सुरेशका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’ लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘प्रेमगन्ज’, ‘महाराजधिराज’, ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भरिसकेका छन्।
‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘नहेर त्यसरी सुन्दरी’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, आदि गीत र गजलहरूमा कर्णप्रिय र लोकप्रिय संगीत भरेका सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत हुन्।










