शुक्रबार र शनिबार ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव, २०२४’ को आयोजना हुँदै छ । नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, लुम्बिनी होटल एसोसिएसन र प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नेपाली र चिनियाँ कलाकारको प्रस्तुति रहने बताइएको छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्ध गर्ने उद्देश्यले आयोजित महोत्सवमा गायिका आनी छोइङ डोल्मा, चीनको भित्री मंगोलियाकी उलान तुया, लु निङलगायत सहभागी हुँदैछन् । महोत्सवमा १० लाख रुपैयाँको म्याराथन प्रतियोगिता पनि राखिएको छ ।

शनिबार हुने म्याराथनमा प्रथम हुनेलाई पाँच लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख, चौथोलाई एक लाख, पाँचौलाई ८० हजार, छैठौंलाई ६० हजार, सातौंलाई ४० हजार, आठौंलाई २० हजार, नवौंलाई १० हजार र दशौंलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले अप्रिल ५ लाई विश्व ध्यान दिवसको रुपमा विश्वभर मनाउने पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपालले संयुक्त राष्ट्रसंघको बैठकमा उक्त प्रस्ताव गरेमा चीनले समर्थन गर्ने उनले बताए ।

लुम्बिनीको शान्ति सन्देश विश्वभर फैलाउन विगतमा चिनियाँ धर्म गुरुहरुले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै उनले बुद्ध र बुद्धिज्मको लागि चीन सँधै नेपालको पक्षमा खडा हुने जानकारी दिएका छन् ।

महोत्सवमा अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान र लुम्बिनी शान्ति कन्सर्ट राखिएको छ ।

तपाईको प्रतिक्रिया