विराटनगर,बैशाख ३१ । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी मोरङ च्याप्टरसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो।

नेपाल रेडक्रस सोसाइटी मोरङ च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयरलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा कुल ८१ पिन्ट रगत संकलन गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख विनोद कुमार पोखरेलले जानकारी दिए। उनले बीमाकर्मीहरूले मानव सेवामा योगदान पुर्‍याएर समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गरेको उल्लेख गरे।

प्रमुख अतिथि मण्डलले देशमा रगतको माग बढ्दै गएको र रगतदाताको संख्या घट्दो क्रममा रहेको अवस्थामा यस्ता कार्यक्रमहरूले उल्लेखनीय राहत पुर्‍याउने बताए। साथै, उनले यस्ता सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गरिनुपर्ने सुझाव दिए।

यसैबीच, नेपाल बीमा प्राधिकरण कोशी कार्यालयले वार्षिकोत्सव तथा बीमा दिवसको अवसरमा बिहीबार बिहान ८ बजे तिनपैनीदेखि महेन्द्रचोकसम्म प्रभातफेरी कार्यक्रम आयोजना गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया