विराटनगर ÷ विराटनगर महानगरपालिकाले निःशुल्क रुपमा सञ्चालनमा ल्याएको ‘महानगर अटिज्म सेवा केन्द्र’मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सेवा केन्द्रमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा आँखा र कानको जाँच गरिएको थियो । शिविरमा ३ जना बालिकासहित १८ जनाको स्वास्थ्य परीक्षण गरेकोमा १० जनामा आँखाको समस्या देखिएको अटिज्म सेवा केन्द्रकी संयोजक रश्मी निरौलाले जानकारी दिनसभयो । त्यस्तै ६ जनामा कानको समस्या देखिएको छ । समस्या देखिएकाहरूलाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल रेफर गरिएको उहाँको भनाइ थियो । महानगरको वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्कीलगायतले स्वास्थ्य शिविरको अनुगमन गर्नुभएको थियो ।
शिविरमा सेवा केन्द्रका कर्मचारीहरुको समेत स्वास्थ्य परीक्षण गरिएको थियो । विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले गत कात्तिकमा शुभारम्भ गर्नुभएको थियो । अटिज्म सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा महानगर अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याइएको थियो । अटिज्म सेवा केन्द्रमा सेवा लिने बालबालिकाहरुका लागि महानगरले निःशुल्क बस सेवासमेत सञ्चालन गरेको छ । सेवा केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिँदै आएको छ । केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराउने गरिएको निरौलाले जानकारी दिनुभयो । सेवा केन्द्रमा हाल २० जना बालबालिकाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिज्म भएका बालबालिका छन् ।
महानगर अटिज्म सेवा केन्द्रका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण
