प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधीनता जोगाउँदै सबैखाले प्रतिगमन रोक्न एमाले सधैं अग्रपंक्तिमा रहने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै उनले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै यस्ता सपना नदेख्न आग्रह गरे। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्कने हल्ला फैलाएको उल्लेख गर्दै उनले भने, ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन। जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न। राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु।’

‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन्। म भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ। त्यस्ता प्रयास राेक्न अग्रभागमा युवा संघ आउनुपर्छ। कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ। तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु।’

उनले भने, ‘एमालेमाथि आन्तरिक र बाह्य पक्षहरू तथा विरोधीहरूको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन्। एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौँ, त्यस ठाउँमा आउन दिने थिएनन्। हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो। एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु।’

ओलीले एमालेका योगदान बिर्साउने प्रयास भएको टिप्पणी गर्दै नेतृत्वमाथि झूठा आरोप र लाञ्छना लगाइएको भन्दै यस्ता भ्रम चिर्न देशभक्त र एमालेहरू एकजुट हुनुपर्ने बताए। उनले राजनीति नबुझेका व्यक्तिको हातमा सत्ता जाँदा मुलुकमा अस्थिरता आएको उल्लेख गर्दै स्थिरता र सुशासनका लागि एमाले र कांग्रेसको सरकार बनेको बताए। उनले सरकार ढल्यो भनेर कराउनेहरूलाई अबको १४ महिनापछि राजीनामा गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने र निर्वाचनमा जाने स्पष्ट पारेका छन्।

भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम भइरहेको उनले बताए। युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै उनले नेतृत्वमा नअटेकाहरूको व्यवस्थापन हुने भएकाले लुछाचुँडी नगर्न र सहमति नभए स्वच्छ प्रतिस्पर्धा गर्न सुझाए। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए।

तपाईको प्रतिक्रिया