बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै ३ जना दलित बालवालिकामाथि कुटपिट भएको छ । बिहिबार दिउँसो सोही गाउँपालिका वडा नम्बर ३, बेर्ना बजार नजिकै स्थानीय होटल संचालक बाँचा भण्डारीले आफ्नो होटलमा पानी छोएको निहुँमा जातीय जालीगलौजसहित कुटपिट गरेकी हुन् ।

संचालक भण्डारीले ३ नम्बर वडाका प्रेम विक, ५ नम्वर वडाका अर्जुन विक र पवन विकलाई जातीय विभेदसहित गालीगलौज गर्दै कुटपिट गरेको आफन्त धनरुप कामीले बताए । पानी छोएकै कारण सामाजिक रुपमा खलल पुर्याउने, जातीय विभेदजन्य शब्द प्रयोग गर्दै गालीगलौजसहित कुटपिट गरेको पीडित प्रेम विकले बताएका छन । ‘हामी तीनजना होटलमा गएर पानी खाईरहेको थियौँ । होटलकी साहुनीले एक्कासी गाली गर्दै हामीलाई कुट्न थाल्नु भयो । कुटपीट नगर भन्नेलाई समेत साहुनीले कुट्नु भयो,’ विकले दियोपोष्टलाई भने ।

बालबालिकाहरुले होटलमा पानी पिएको र साउनीको छोरीलाई जिस्काएको भन्ने निवेदन आफु कहाँ आएको ईलाका प्रहरी कार्यालय जुड्डीका प्रहरी सहायक निरीक्षक रमेश रावलले जानकारी दिए । उनले अहिले घटनाको वास्तविक बुझनका लागि पिडित र पीडक पक्ष दुबै छलफलका लागि जुड्डी प्रहरी चौकीमा बोलाएको बताए ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ तथा जातीय भेदभाव तथ छुवाछूत (कसुर र सजाय) नियमावली २०७४ ले प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति जातजाति वंश समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नहुने भनिएको छ ।

तर बाजुरामा दलित समुदायमाथि यस्ता किसिमका घटना दिनानुदिन बढ्दै गएका छन । जातकै आधारमा दलितमाथिको हेपाहा प्रवृति अझै कायमै रहेको छ ।
सदियौंदेखि जातीय छुवाछूतको चरम सिकार भोग्दै आएको दलित समुदाय राज्यकै व्यवहारबाट सन्तुष्ट छैन । जातीय विभेदलाई संस्थागत टेवा दिने मनुस्मृतिलाई जस्ताको तस्तै समाज व्यवहारमा उतार्न खोज्ने जमात छँदै छ । जातीय विभेदमा परेका, पारिएका दलितलाई कानुनको ढोकासम्म पुग्न नदिनेहरू देखिएकै छ ।

सामाजिक प्रतिष्ठाको खोल ओढेर दलित जातिमाथि हुने विभेदलाई मलजल गर्नेहरूको भीड समाजमा बढीरहेको छ ।

तपाईको प्रतिक्रिया