विराटनगर ÷ विराटनगरस्थित आरोहण गुरुकुलमा बिहीबारदेखि विराट वाङ्मय उत्सव–२०८२ सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा सुरु भएको उत्सव दुईदिनसम्म सञ्चालन हुनेछ । उत्सवको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरुको संग्रह र युवाकवि रमेशचन्द्र अधिकारीको माझीहाडाम कवितासंग्रह विमोचन गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी कार्यबाहक मेयर कार्की, विशिष्ट अतिथि वरिष्ठ कवि जसराज किराँती र आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले संयुक्त रुपमा कृतिको विमोचन गरे । त्यस्तै आरोहरण गुरुकुलले प्रकाशित गरेको ‘काव्यारोहण’ पनि विमोचन गरिएको थियो ।
कवि रमेशचन्द्र अधिकारी, धीरज राई र दीपेश भण्डारीले गरेको काव्यारोहणमा गुरुकुलले आयोजना गरेको कविता वाचन शृंखला ‘काव्यारोहण, आरोहण कवितायात्रा’मा प्रस्तुत भएका १२ जना कविका पाँच–पाँचवटा कविता समावेश गरेर ‘काव्यारोहण’ प्रकाशित गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा वरिष्ठ कवि किराँतीले सम्भाषण प्रस्तुत गरेका थिए । कार्यबाहक मेयर कार्की, आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्री, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उत्सवअन्तर्गत मेरो स्वरः हाम्रो आवाज (कविता वाचन), हाम्रो भाषाः हाम्रो पहिचान, साहित्यको सामाजिकता, संस्मरणमा तथ्य र काल्पनिकी, सिर्जना सँगसँगै (साहित्य र साहित्यिक संस्था), विद्यालयमा सिकाइ र सिर्जना, नवयुगः नवआवाज, अनुवादका अड्चन, गीतका गुञ्जनः संगीतका सूर, बालकृष्णको विरासत (बालकृष्ण पोखरेलः भाषा र अनुसन्धान) गजल वाचनलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।
आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव सुरु
