विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि अन्तर हाउस फुटबल टुर्नामेन्ट सुरु भएको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले रेफ्रिलाई फुटबल दिएर उद्घाटन गर्नुभएको प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछ । कक्षा ३ देखी ९ सम्मका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगितामा चार वटा समूहको बेग्लाबेग्लै स्पर्धाहरु हुनेछन् । पहिलो दिन आज कक्षा ३ देखि ५ सम्मका चार वटा हाउसबिचको खेलहरु सम्पन्न हुँदा कोशी हाउसले उपाधी जितेको छ । कोशीले गण्डकी हाउसलाई २ गोल गर्दै उपाधि जितेको हो । जसका लागि कक्षा ४ का निर्भिकबाबु कालिकोटेले १ र कक्षा ५ का प्रिन्स साहले १ गोल गर्नुभयो । टुर्नामेन्टमा सबैभन्दा बढी ३ गोल गर्ने निर्भिकबाबु म्यान अफ द टुर्नामेन्ट घोषित हुनुभयो ।
यसअघिको खेलमा कर्णालीलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै गण्डकी फाइनलमा पुगेको हो भने आजको पहिलो खेलमा मेचीलाई १ का विरुद्ध तीन गोल गर्दै कोशी हाउस फाइनलमा पुगेको हो । मेचीका लागि कक्षा ५ का रन्जित साहले गोल गर्दा कोशीका लागि कक्षा ४ का निर्भिकबाबु कालिकोटेले २ र कक्षा ५ का उद्देश्य बस्नेतले १ गोल गर्नुभएको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार कक्षा ६ र ७ को समूह तथा ८ र ९ को समूहका खेलहरु हुनेछन् । बिहिबार ८ र ९ को समूहको फाइनल खेल तथा छात्रा खेलाडीहरुको स्पर्धा हुने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो ।
एभरेष्ट अन्तर हाउस फुटबल टुर्नामेन्ट सुरु स् कक्षा पाँच मुनी कोशी हाउस विजयी










