नेपाली बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको प्रेमकथा प्रधान फिल्म ‘कुमारी’ले अब अन्तर्राष्ट्रिय यात्रा सुरु गर्ने भएको छ। भोलि बिहीबार (१२ फेब्रुअरी)देखि अस्ट्रेलिया तथा मध्यपूर्वका विभिन्न देशहरूमा फिल्म औपचारिक रूपमा प्रदर्शनमा आउन लागेको हो। वितरकका अनुसार फिल्म त्यहाँका मुख्य सिनेमा चेनमार्फत नियमित शोसहित रिलिज हुनेछ।
अस्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड, एडिलेड, तस्मानिया र पर्थस्थित आधा दर्जनभन्दा बढी हलमा फिल्म प्रदर्शन गरिनेछ। यस्तै, मध्यपूर्वका युएई, बहराइन र कतारका प्रमुख सहरहरूमा पनि ‘कुमारी’ एकसाथ लाग्ने तयारी छ। रिलिजअघि नै दुवै क्षेत्रमा अग्रिम टिकट बुकिङ उत्साहजनक देखिएको जनाइएको छ। अस्ट्रेलियामा थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले वितरण सम्हालेका छन् भने मध्यपूर्वमा नेपफिल्मले फिल्म बजारमा उतार्दैछ। निर्माता महेन्द्र अधिकारीले अस्ट्रेलिया र मध्यपूर्वपछि अमेरिका र क्यानडामा पनि प्रदर्शनको तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार केही साताभित्र संयुक्त राज्य अमेरिका र क्यानडाका विभिन्न सहरहरूमा फिल्म रिलिज गरिनेछ।
अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत प्रदर्शन हुनेछ। दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’मा अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा देखिएका छन्। विकास सुवेदीको लेखन र सुशन प्रजापतिको छायांकन रहेको फिल्मले संघर्षरत एक युवतीको जीवन र प्रेमको भावनात्मक यात्रा प्रस्तुत गरेको छ। फिल्मको ‘डोको बुन्ने’ गीत अहिले सामाजिक सञ्जाल र दर्शकमाझ विशेष चर्चामा छ।










