चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’ आगामी बैशाख २५ गते (८ मे)देखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले प्रणय दिवसको अवसर पारेर फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै औपचारिक रिलिज मिति घोषणा गरेको हो। सो मितिमा हालसम्म अन्य कुनै नेपाली फिल्म नजुधेकाले ‘मालती मंगले’ एकल प्रदर्शनको फाइदा उठाउने अपेक्षा गरिएको छ।

सार्वजनिक पोस्टरमा मुख्य जोडी विजय बराल र वर्षा राउत प्रेमिल मुद्रामा प्रस्तुत भएका छन्। विजयले वर्षाको काखमा टाउको राखेका छन् भने फरिया–चोलोमा सजिएकी वर्षाले विजयको कुममा टाउको अड्याउँदै मुस्कुराइरहेकी देखिन्छिन्। पोस्टरले ग्रामीण परिवेशमा आधारित भावनात्मक प्रेमकथा प्रस्तुत गर्ने संकेत दिएको छ। फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिनेछन्। प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासँगै मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही र रिजन परियारलगायत कलाकारहरूको अभिनय रहेको छ भने फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका छन्।
रानी फिल्म्स र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।

बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह–निर्माताका रूपमा रहेका छन् । त्यस्तै प्राविधिक पक्षतर्फ महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन रहेको छ। संगीत क्षेत्रमा सफल यात्रा बनाइसकेका ढकालको निर्माण यात्राको सुरुआत कस्तो रहला भन्ने जिज्ञासा अहिले दर्शकमाझ बढ्दो छ।

तपाईको प्रतिक्रिया