नेपाली चलचित्रको व्यावसायिक अवस्था सार्वजनिक गर्दै चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले फागुन २ गते शनिबारसम्मको आम्दानी विवरण सार्वजनिक गरेको छ। पछिल्लो रिपोर्टअनुसार प्रदर्शनरत तीन नेपाली चलचित्रमध्ये ‘आ बाट आमा’ ले उल्लेख्य व्यापार गरेको देखिएको छ भने अन्य दुई चलचित्र अपेक्षाकृत कमजोर सावित भएका छन्। गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आ बाट आमा’ ले हालसम्म रु ४ करोड ८० लाख ९० हजार ४८७ आम्दानी गरेको छ। चलचित्रका लागि कुल १ लाख ७६ हजार ५५२ टिकट बिक्री भएको बोर्डको तथ्यांकमा उल्लेख छ। मनोरञ्जनसँगै देश परिवर्तनको सन्देश बोकेको कथावस्तु दर्शकमाझ लोकप्रिय बन्दै गएको देखिन्छ।

चलचित्रका मुख्य अभिनेता पल शाहले कथाबारे धेरै खुलाउन नमिल्ने बताए पनि आफूले चाहेको जस्तो भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गरे। उनका अनुसार चलचित्रको कथा अधिकांश नेपाली परिवार र गाउँसमाजसँग नजिक छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोड्ने विश्वास गरिएको छ।
चन्द्र पन्तको निर्देशनमा बनेको यस चलचित्रमा विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। संवाद अभिमन्यु निरवीले लेखेका हुन् भने संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन्।

यता, माघ २३ गतेदेखि प्रदर्शनमा आएको ‘कुमारी’ ले हालसम्म रु ५६ लाख २११ मात्र कमाउन सफल भएको छ। कुल १७ हजार २५ टिकट बिक्री भएको उक्त चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन्। जेनजी पुस्ताको प्रेम कथामा आधारित चलचित्रले अपेक्षाकृत राम्रो प्रतिक्रिया नपाउँदा व्यापारमा असर परेको विश्लेषण गरिएको छ। त्यसैगरी, माघ २३ गतेबाटै प्रदर्शनमा आएको ‘रमिताको पिरती’ ले रु १९ लाख ४३ हजार ५८८ आम्दानी गरेको छ। कुल ५ हजार ९३७ टिकट बिक्री भएको यस चलचित्रको निर्देशन सुदीप्ता अधिकारीले गरेकी हुन्। आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ र समिर श्रेष्ठको अभिनय रहेको चलचित्रले समीक्षामा सकारात्मक प्रतिक्रिया पाए पनि त्यसको प्रभाव बक्सअफिसमा देखिन सकेको छैन।

एकै मितिमा प्रदर्शनमा आएका ‘कुमारी’ र ‘रमिताको पिरती’ दुवैको व्यापार न्यून रहँदा बजारमा नेपाली चलचित्रको प्रतिस्पर्धा चुनौतीपूर्ण बनेको संकेत मिलेको छ। बोर्डले केही महिनायता हरेक सोमबार स्वदेशी तथा विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गर्दै आएको छ, जसले चलचित्र उद्योगको पारदर्शिता बढाउन सहयोग पुगेको बताइएको छ।

तपाईको प्रतिक्रिया