लामो समयदेखि म्युजिक भिडियोमार्फत दर्शकमाझ लोकप्रिय बनेका पल शाह र मलिका महत अन्ततः एउटै फिल्ममा देखिने भएका छन्। दर्शकले वर्षौंदेखि ठूलो पर्दामा हेर्न चाहेको यो जोडी अब निर्माणको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ मार्फत पहिलोपटक एकसाथ प्रस्तुत हुने भएको हो।
यही जेठ १८ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मका लागि निर्देशक तथा निर्माता चन्द्र पन्तले आइतबार अभिनेत्री मलिका महतलाई औपचारिक रूपमा अनुबन्ध गरेका छन्। अभिनेता पल शाह भने यसअघि नै फिल्ममा आबद्ध भइसकेका थिए। मलिकाको प्रवेशसँगै फिल्मप्रति दर्शकको चासो र उत्साह थप बढेको देखिएको छ।
पल र मलिकाको जोडी म्युजिक भिडियोमा निकै सफल मानिन्छ। उनीहरूका भिडियोहरूले युट्युबदेखि सामाजिक सञ्जालसम्म राम्रो चर्चा बटुलेका छन्। यही कारण उनीहरूलाई फिल्ममा पनि एकसाथ हेर्न चाहने दर्शकको संख्या ठूलो छ। विगतमा केही निर्माताले यो जोडीलाई पर्दामा ल्याउने प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।
यद्यपि, ‘आ बाट आमा २’मा मलिकाको जोडी पल शाहसँग नै हुनेछ भन्ने विषयमा निर्माण पक्षले अझै केही खुलाएको छैन। फिल्ममा पलसँगै आकाश श्रेष्ठ र सविन श्रेष्ठको पनि प्रमुख भूमिका रहनेछ। त्यस्तै अभिनेत्रीहरूमा मलिका महत, रिश्ता गुरुङ र निकिता आचार्य अनुबन्धित भइसकेका छन्। यसले फिल्ममा कसको जोडी कोसँग बाँधिनेछ भन्ने विषयलाई रहस्यमय बनाएको छ। दशैं लक्षित प्रदर्शन मिति तय गरिएको यो फिल्म असोज ३० गते, फूलपातिको अघिल्लो दिनदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, दिलीप ओखेडा र नरेन खड्कालगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सफलतापछि निर्माण हुन लागेको यसको सिक्वेलले पारिवारिक कथासँगै नयाँ स्टारकास्टका कारण पनि दर्शकमाझ विशेष प्रतीक्षा सिर्जना गरेको छ।










