नेपाली फिल्म क्षेत्रमा फरक स्वाद र नयाँ प्रस्तुति दिने दाबी गरिएको फिल्म ‘कुम्भ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा सोमबार राति रिलिज गरिएको ३ मिनेट १३ सेकेन्ड लामो ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको छ । फिल्म आगामी जेठ १५ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको वरिपरि घुम्ने कथावस्तुलाई केन्द्रमा राखेको देखिन्छ । शक्ति प्राप्ति र त्यसका लागि हुने षड्यन्त्र, विश्वासघात तथा संघर्षलाई मुख्य विषय बनाइएको ट्रेलरमा एक्सन, रहस्य र रोमान्सको आकर्षक संयोजन प्रस्तुत गरिएको छ । शक्तिशाली संवाद र भव्य एक्सन दृश्यहरूले फिल्मप्रति दर्शकको चासो अझ बढाउने संकेत गरेका छन् । विशेषगरी अभिनेता सुनिल थापाको फरक शैली र गम्भीर भूमिकाले ट्रेलरमा विशेष ध्यान खिचेको छ । सामाजिक सञ्जालमा समेत उनको प्रस्तुतिको प्रशंसा भइरहेको छ । ट्रेलरमा मुख्य कलाकार अशोक आर्यन, रोहित रुम्बा, सृष्टि, सुशील तथा रोबर्टको अभिनय पनि प्रभावशाली देखिन्छ ।

निर्माण पक्षले ‘कुम्भ’लाई परम्परागत नेपाली फिल्मको ढाँचाभन्दा फरक शैलीमा निर्माण गरिएको दाबी गरेको छ । फिल्ममा कथावस्तुसँगै प्राविधिक पक्षलाई पनि विशेष प्राथमिकता दिइएको जनाइएको छ । फिल्मको लेखन, निर्देशन, छायांकन तथा सम्पादन रणधीर श्रेष्ठले गरेका हुन् । कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन् भने निर्माता रणधीर श्रेष्ठ र राजेश शाह हुन् । फिल्मको देशव्यापी वितरणको जिम्मा श्रीराम बालाजी फिल्म्सले लिएको छ ।

रहस्य, शक्ति संघर्ष र उच्चस्तरीय एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएसँगै ‘कुम्भ’लाई लिएर दर्शकमाझ अपेक्षा बढेको छ । अब फिल्मले प्रदर्शनपछि बक्स अफिसमा कस्तो प्रभाव छोड्नेछ भन्ने प्रतीक्षा मात्रै बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया