– हरिराम पौडेल काठमाडौं, जेठ २६ गते । गीतकार संघ नेपालले श्रष्टा सर्जकहरुको उत्साह, क्रियाशिलता र सम्मानको लागी हरेक वर्ष गर्दै आइरहेको श्रष्टा सम्मान कार्यक्रम यस वर्ष पनि सम्पन्न गरेको छ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न राष्ट्रिय श्रष्टा सम्मान कार्यक्रममा अमर भावना गीतकार राष्ट्रिय श्रष्टा सम्मान २०७४ बाट वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई रु. एक लाख एक नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ भने वर्ष गीत पुरस्कारबाट पवित्रा राई र सुमन बैरागी, वर्ष गीत पुस्तक पुरस्कारबाट जानुका राई र सुमन श्रापित नगद रु. ५१ हजार सहित सम्मानित भएका छन् । त्यसै गरि संयुक्त राज्य अमेरिकामा बसी नेपाली गीत सृजनामा लागेकी राखि गौचनलाई नगद रु. ११ हजार सहित डायस्पोरा गीतकार सम्मानबाट गरिएको छ ।

समारोहमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले श्रष्टाहरुले गीत, संगीत र कलाको मौलिक सृजना गरी राष्ट्रको पहिचान बचाएर ठुलो गुन लगाएको बताए । यस्ता श्रष्टाहरुको राज्यले पनि कदर गर्नु पर्नेमा उनले जोड दिए । गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो भने गीतकार संघ नेपालको मुखपत्र गीतकार पनि विमोचित गरिएको थियो । उक्त समारोहमा वरिष्ठ गीतकारहरु रत्न शम्शेर थापा, किरण खरेल, यादव खरेल, राजेन्द्र थापा, रविन्द्र आशिष शैली, आनन्दरत्न बज्राचार्य लगायतको उपस्थिति रहेको गीतकार संघ नेपालका उपाध्यक्ष शुभ मुकारुङ्गले बताए ।

तपाईको प्रतिक्रिया