काठमाडौं। बुबा वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको गायन मार्ग पहिल्याउँदै छोरी सराना श्रेष्ठ पनि गायनमा आएकी छन् । यी गायिकाले नयाँ गीत पानी छाया…दर्शकमाझ ल्याएकी छन् ।

गायनमा सरानालाई उनका पिता तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले साथ दिएका छन् । यो गीतको रचना राजेन्द्र थापाले गरेका हुन् । जसमा संगीतकार राजनराज शिवाकोटीको संगीत छ ।

राजधानी शुक्रबार साँझ एक कार्यक्रमबीच गायिका सराना, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेन्द्र थापा, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बूढा)लगायतले यो गीतलाई सार्वजनिक गरे । कार्यक्रममा वरिष्ठ कलाकार आचार्यसहित सबैले गीतको खुलेर प्रशंसा गरे ।

सुव्रतराज आचार्यले निर्देशन गरेको यो गीतको भिडियोमा मोडलका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण र सराना प्रस्तुत भएका छन् । सरानाको नृत्य पनि आकर्षक छ । राजिव समरको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

गायक मदनकृष्ण श्रेष्ठले छोरीको स्वर मिठो भएका कारण सुरुमा उनीसँग गीत गाउने हिम्मत नभए पनि पछि सबैले गाउने सल्लाह दिएपछि गाएको बताए । छोरापछि छोरी पनि गायनमा आउँदा निकै खुसी लागेको उनले बताए । विगतमा अनौपचारिक रूपमा बुबासँग धेरै पटक गीत गाए पनि बुबाले प्रेरणाले पहिलो पटकसँगै गीत रेकर्ड गरेर ल्याएको बताइन् । अब गायनलाई निरन्तरता दिने पनि उनले बताइन् ।

तपाईको प्रतिक्रिया