एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार आफूलाई सबैभन्दा बढी ‘ब्राण्ड भ्यालु’ भएको बलिउड सेलिब्रेटीमा उभ्याउन सफल भएका छन् । डफ एण्ड फेल्प्सले बुधबार जारी गरेको सेलिब्रेटी ब्राण्ड भ्यालुएसन रिपोर्टमा अक्षय कुमार सबैभन्दा बढी ‘ब्राण्ड भ्यालु’ हुने बलिउड सेलिब्रेटी भएकाे उल्लेख छ । उनको ब्राण्ड भ्यालु १०४.५ मिलियन अमेरिकी डलर छ । उक्त सूचीको पहिलो नम्बरमा भने भारतीय क्रिकेट कप्तान विराट कोहली छन् । उनको ब्राण्ड भ्यालु २३७ मिलियन डलर छ ।
अघिल्लो वर्ष दोस्रो नम्बरमा रहेकी अभिनेत्री दीपिका पादुकोण एक स्थान तल झर्दै तेस्राे स्थानमा पुगेकी छन् । यस्तै दीपिकाका श्रीमान् अभिनेता रणबीर सिंह चाैथाे स्थानमा रहेकाे रिपोर्टमा उल्लेख छ । दीपिकाले आफ्नो चलचित्र ‘छपाक’को प्रमोसनका क्रममा जवाहरलाल नेहरु विश्वविद्यालय पुगेर मोदी सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोध गरिरहेका विद्यार्थीहरुसँग भेट गरेपछि उनी विवादमा तानिएकी थिइन् । यसका कारण उनको ‘मार्केट भ्यालु’ घटेको बताइएको थियो ।
उक्त रिपोर्टको टप–२० को सूचीमा १६ बलिउड सेलिब्रेटी छन् भने चार जना क्रिकेटर छन् । शाहरुख खान र सलमान खान क्रमशः सूचीको पाचौँ र छैठौँ स्थानमा छन् । अघिल्लो वर्षको भन्दा एक स्थान तल झर्दै अमिताभ बच्चन आठौँ स्थानमा छन् भने बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खान ११ औँ स्थानबाट चार स्थान तल झर्दै १६ औँ स्थानमा पुगेका छन् ।
आलिया भट्ट उक्त सूचीको सातौँ नम्बरमा छिन् भने भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी नवौँ, आयुष्मान खुराना १० औँ, ऋतिक रोशन ११ औँ, वरुण धवन १२ औँ, प्रियंका चोपडा १३ औँ, रणबीर कपूर १४ औँ, सचिन तेन्दुलकर १५ औँ स्थानमा छन् । यस्तै टाइगर श्राफ १७ औँ स्थानमा रहँदा अनुष्का शर्मा १८ औँ, करिना कपूर १९ औँ र क्रिकेटर रोहित शर्माले २० औँ स्थान सुरक्षित गरेका छन् ।