काठमाडौं । चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा “शिक्षाका लागि संगीत” नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना गरिने छ ।

वि.सं. २०७२ मा आएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माणमा सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ ।

“वि.सं. २०७२ यता हामीले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा मा.वि. लगायत विभिन्न जिल्लाका विद्यालय भवनहरु पुनर्निर्माण गर्न सघाएक छौं ।

भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण सुरु भईसकेको छ । सो पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन चर्चित व्याण्ड नेपथ्यसँगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागिएको हो,” हेल्प नेपाल नेटवर्क नेपाल शाखाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले भने । “पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठन पाठनमा पनि राम्रो प्रभाव पर्छ। त्यसैले हामी अरु जिल्लाहरुका लागि पनि नमुना बन्न सक्ने गरी विद्यालयको पुनर्निर्माण कार्य अगाडी बढाइ रहेका छौं,” उनले थपे ।

कार्यक्रममा चर्चित गायक अमृत गुरुङले प्रस्तुती दिनेछन् । अहिले टिकटको मूल्य रू ९०० राखिएको छ । कार्यक्रमको दिन भने टिकटको मूल्य प्रति व्यक्ति रु १,२५० राखिएको आयोजकहरुले जनाएका छन् । इ–सेवामा गएर कार्यक्रमको टिकट किन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया