काठमाडौँ — फागुन १६ गतेदेखि राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘सब ठिक छ’ मञ्चन सुरु भयो । पहिलो दिन ७० जना दर्शक उपस्थित थिए । पहिलो हप्ता ४०/५० जना मात्रै भए । कोरोना भाइरस(कोभिड-१९) को संक्रमण विश्वभर फैलिएसँगै नेपालमा पनि यसको प्रभाव देखियो । नाटकघरमा ह्वात्तै दर्शक घट्न थाले ।

अहिले नाटक हेर्न आउने दर्शकको संख्या पातलिएको ‘सब ठिक छ’का निर्देशक कृष्ण खड्का बताउँछन् । ‘कोरोनाको प्रभाव परेको छ , हाम्रो नाटकमा । नाटक हेर्ने दर्शक ३/४ जना मात्र हुनुहुन्छ । मारमा परियो । दर्शक घरबाट बाहिर निस्कन डराइरहनु भएको अवस्था छ,’ उनले सुनाए ।

कोरोनाको प्रभाव देखिएपछि नाटक मञ्चन रोक्ने निर्णयमा पनि पुगेका थिए निर्देशक खड्का । तर, सुरु भइसकेको नाटकलाई जसोतसो चलाउँ भन्ने उनलाई लाग्यो । त्यसैले थोरै दर्शकसंख्यामाझ पनि उनी नाटक चलाउँदै छन् । अब यो नाटक बुधबार र शुक्रबारसम्म मात्र मञ्चन हुनेछ ।

कोरोनाकै कारण नाटकको बुकिङ पनि स्थगित भयो । ‘७ शोको बुकिङ हुने कुरा थियो । तर, कोरोनाकै कारण यी बुकिङमा असर पर्‍यो,’ निर्देशक खड्का सुनाउँछन्, ‘धेरै अडियन्सले फोन गरेर नाटक सार्नु भन्नु भयो । कोरोनाले गर्दा आउन नसक्ने भनेर भन्नुहुन्छ । अब दर्शकलाई जबरजस्ती पनि बोलाउनु भएन ।’

यो नाटकको रिहर्शल मंसिरबाट सुरु भयो । अक्सर रिहर्शलकै समयमा नाटक मञ्चन मिति तय गरिन्छ । त्यतिबेला कोरोनाको हल्ला फैलिसकेको थिएन । निर्देशक खड्काले पनि फागुन १६ देखि ३० सम्मका लागि सर्वनाम थिएटरलाई निश्चित रकम बुझाइसकेका थिए । त्यसैले पनि नाटकको मिति सार्न सकेनन् ।

नाटकले अपेक्षित दर्शक मात्र होइन व्यापार पनि राम्रो नगरेको निर्देशक खड्काको दुखेसो छ । ‘हुन त दर्शक आउँदा पनि नाटक घाटामै जाने हो । जे होस् खाको र रिहर्शलको खर्च उठ्थ्यो होला भनेको कोरोनाले उठ्न दिएन,’ उनले सुनाए ।

त्यस्तै कोरोनाको प्रभाव मण्डला थिएटरका विभिन्न कार्यक्रममा पनि देखिएका छन् । मण्डला सञ्चालक समितिका अध्यक्ष सृजना सुब्बाका अनुसार राजधानी बाहिर गर्ने योजना भएको वर्कशप कोरोनाकै कारण स्थगित भएको छ । ‘कोरोनाले नै हाम्रो नाटक रोकिएको होइन । अहिले हाम्रो नाटक नभएकै हो । यो समयमा नाटक गर्ने योजना थिएन । तर, राजधानी बाहिर गर्ने वर्कशप चाहिँ कोरोनाले गर्दा स्थगित गर्‍यौं ।’

त्यस्तै मण्डलामा नाटक गर्ने आउने केही समूह पनि पछिल्लो समय कोरोनाकै कारण पछाडि सरेको उनी बताउँछिन् । अहिले मण्डलाका अभिनय कक्षाहरु भने सञ्चालनमा छ । विद्यार्थी संख्या थोरै भएका कारण यसलाई निरन्तरता दिइएको सुब्बा सुनाउँछिन् । ‘राजधानीका थिएटरमा कोरोना प्रभाव देखिएको छ । सामूहिक काम गर्दा केही भइहाल्ला कि भन्ने डर छ । त्यसैले छलफल गरेरै अगाडि बढिरहेका छौं हामी,’ उनले सुनाइन् ।

शिल्पी थिएटरमा मार्च ६ देखि ‘गोल’ मञ्चनमा ल्याउने तयारीमा थियो । तर कोरोनाकै कारण यसको मञ्चन मिति पछाडि धकेलिएको सञ्चालक घिमिरे युवराज बताउँछन् । ‘असर त परेकै छ । सरकारले सभा, भेला नगरौं भनेर भनेको छ । यसकारण यसपाली हामीले होली कार्यक्रम गरेनौं अनि डिस्कोर्सको कार्यक्रम अहिलेलाई रोकिएको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया