काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसितको अन्तर्वार्ताका कारण सरकारको निरन्तर दबाब र पेलाइमा परेका रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
उनले आफ्नो पदावधि ७ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । कार्कीले सञ्चार मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मंगलबार राजीनामापत्र बुझाएका हुन् । स्रोतका अनुसार बुधबार बस्ने मन्त्रिपरिषद बैठकमा कार्कीको राजीनामा पेस हुने छ ।
सञ्चार मन्त्रालयबाट तत्काल पद त्याग नगरे मन्त्रिपरिषदले बर्खास्त गर्ने चेतावनी आएपछि उनले राजीनामा दिएको जानकारी स्रोतले दिएको छ । तर, उनले पत्रमा स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनी पहिलोपटक २०६९ मंसिरमा चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका थिए । पहिलो कार्यकाल पूरा गरेपछि उनी २०७३ माघमा पुनः ४ वर्षका लागि नियुक्त भएका हुन् ।
गत वैशाख १५ गते रेडियो नेपालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अन्तर्वार्ता प्रसारण भएकामा आपत्ति प्रकट गर्दै मन्त्रिपरिषद र मन्त्रालयले कार्कीसाग स्पष्टीकरण सोधेका थिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले रेडियो नेपालसितको अन्तर्वार्तामा प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका थिए । सरकारी सञ्चार माध्यम रेडियो नेपालबाट प्रसारित अन्तर्वार्तामा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको आरोप लगाउादै मन्त्रिपरिषद र मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई पदबाट हटाउन स्पष्टीकरण सोधिएको थियो । अन्तर्वार्ता रेडियो नेपालकै पत्रकार नवराज लम्सालले लिएका थिए । मन्त्रालयले लम्सालसित समेत स्पष्टीकरण सोधेको थियो ।
मन्त्रिपरिषद र मन्त्रालयको स्पष्टीकरणपत्र पाउनासाथ कार्कीले विज्ञप्ति जारी भट्टराईसित लिएको अन्तर्वार्ताका लागि सार्वजनिक रूपमा माफी माग्नुका साथै अबदेखि अन्तर्वार्ताको अतिथि चयन गर्दा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । उनकै निर्देशनमा रेडियो नेपालको अनलाइनबाट उक्त अन्तर्वार्ता हटाइएको थियो । कार्कीले मन्त्रिपरिषद र मन्त्रालयलाई स्पष्टीकरणको लिखित जवाफसमेत पठाइसकेको जानकारी स्रोतले दिएको छ ।