यतिबेला

पशुपतिको बुढो साढेझैँ

उत्तानो टाङ पल्टाएर

झोल्लिएको अण्डकोस असरल्लै छोडेर भुइँमा

मस्तराम घुरिरहेको छ –

सिहदरबारको सुइखुट्टे स्याल ।

यतिबेला

पशुपतिको रोगी बादरझैँ

खुइलिन बाकी आफ्नै शरीरका केही रौ

देखाएर दुनियाँलाई

मजासङ्ग

कन्याउदै आफ्नो लुते गुप्ताङ्ग

घाम तापिरहेको छ –

बालुवाटारको बोक्सी बिरालो ।

यतिबेला

षड्यन्त्रपुर्वक मारिएको

आफ्नै भुतपुर्व घोषित लोग्नेमानिसको

अगति परेको अशान्त आत्मा

काचो वायुको रूपमा

अचानक भड्किएर दुख दिन थालेपछि

अधैर्य भई जोखना हेराउदा – हेराउदै

आफैं हल्लिरहेको छ – रोयल धामीझाक्रीसङ्गै

श्रीपेचमात्रै लगाउन बाकी रहेको

शीतल निवासको साईदुवा छेपारो ।

यतिबेला

मलाई मन लागिरहेको छ –

समृद्धिको दिवास्वप्न राग अलापेर कहिल्यै नथाक्ने

यो शताब्दीकै महाअल्छी

दीर्घरोगी मान्छेको

दुइटै जिभ्रो थुतेर मिल्क्याइदिन ।

यतिबेला

न्याय र अन्याय छुट्याएर हेर्ने

स्वयम्भूको दुवै आँखामा

बाधिदिएको छ कसैले – गान्धारीपट्टी

र त आफैसङ्ग लाज मानेर

मुख छोपेर बसिरहेको छ – वर्तमान समय ।

यतिबेला

इमानजमान र नैतिकतासङ्गै

बुद्धिविवेक बाकी नरहेको

तीतो तर सत्य कुरा

प्रमाणित भएपछि

मृत्युले समेत नपत्याएकै कारण

ज्युदो लास भएरै

अहिलेसम्म बाचिरहेको –

यो देशको दीर्घरोगी बुढो शासक

भएको छ – नीरो

र आफैंमा निमग्न भएर

बजाइरहेको छ – अराजक बासुरी ।

मिलन समीर , करादीखोला , स्याङ्जा

तपाईको प्रतिक्रिया