लक डाउन खुकुलो भएपनि नेपाली चलचित्रको काम सुरु हुन सकेको छैन । तर, म्यूजिक भिडियोको छायांकन भने सुरु भैसकेका छन् । केही म्यूजिक भिडियो छायांकन भएर पनि बजारमा आइसकेका छन् ।
म्यूजिक भिडियो छायांकन सुरु भएसँगै नायक पल शाहको व्यस्तता पनि ह्वात्तै बढेको छ । नायक पल शाहले लक डाउन खुकुलो भएपछि २ वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
तर, उनलाई म्यूजिक भिडियोको अफर भने प्रशस्त मात्रामा आइरहेको छ । पलका अनुसार, उनले करिब डेढ दर्जन भिडियोमा काम गर्ने सहमती दिइसकेका छन् ।
पलले भने–‘मैले करिब डेढ दर्जन भिडियोमा काम गर्ने सहमती गरिसकेको छु । चलचित्रको काम तत्काल सुरु नभएतापनि भिडियोको काम पनि धमाधम भैरहेको छ ।’
सामाजिक दुरी कायम गरेर छायांकन भैरहेकाले पनि भिडियोमा काम गर्न सहज छ । पलका अनुसार, उनले अहिले आफूले लिदै आएको पारिश्रमिक केही कम गरेका छन् । उनले भने–‘पहिले लिएको भन्दा करिब २०–२५ प्रतिशत कम पारिश्रमिकमा मैले काम गरेको छु ।’ पलले, लक डाउनका कारण सबैको समस्या एउटै भएकाले पनि मिलेर रुपमा काम गर्नुपर्ने बताए ।
पलले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २ र हृदयभरी’ रिलिजको लागि तयार छन् । तर, चलचित्रको बजार कहिलेबाट खुल्छ पक्का भएको छैन । तर, पल भने म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् ।