कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी शो हेर्न पाउने भएका छन् । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रशारणको अन्तिम तयारी भइरहेको छ ।

‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’

२६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक–एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एक जना बाहिरिदै जान्छन् ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने–‘लकडाउनकै बीचमा २७ वटा मुलुकमा ‘डान्सिङ विथ दि स्टार’ सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउने निधो गरेका छौं ।’

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने ‘डान्सिङ विथ दि स्टार्स’ बहुचर्चित पारिवारिक रियालिटी शो हो । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरिनेछन् । नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैंक पावर्डबाइ स्पोन्सर छ । असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाल लाइफ इन्स्योरेन्स, अनलाईन खबर, नेपालहोम्स डटकम सहभागी भएका छन् । आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई आइएमइ पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ ।

हिमालय टेलिभिजन एचडीले ‘दि भ्वाइस अफ नेपाल’ ‘दि भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ । ‘डान्सिङ विथ दि स्टार्स’ प्रसारण सुरु भएसँगै ‘भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया