काठमाडौं– अभिनेता तथा व्यंग्यकार सन्दिप क्षेत्रीले कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको लोकप्रिय कार्यक्रम ‘ह्वाट द फ्लप’ विसुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको कार्यक्रम भएको स्पष्ट पारेका छन् ।

अहिले बिहिबार राती कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममार्फत प्रस्तोता क्षेत्रीले भनेका छन् -‘यो कार्यक्रमलाई हामीले यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ । तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ह्वाट द फ्लप तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’

थुप्रै स्ट्याण्डअप कमेडी शोमार्फत दर्शकहरुको मन जित्दै आएका व्यंग्यकार क्षेत्रीले आजको कार्यक्रममा भनेका छन् – ‘मैले पछिल्लो समयमा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाएँ । त्यो खबर थाहा पाइसकेपछि म पनि मर्माहत भएको छु । त्यो मेरो आफ्नो समुदाय हो । र मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइ सकेपछि मेरो मन दुःख्नु स्वभाविक हो । हुन त मेरो उद्देश्य त्यो कदाचित होइन, त्यही पनि यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ह्वाट द फ्लप टिम र कान्तिपुर टेलिभिजनलाई माफी माग्न चाहान्छु ।’

कान्तिपुर टेलिभिजनका स्टेशन मेनेजर दिनेश डिसीका अनुसार उनी स्टेशन मेनेजरको रुपमा टेलिभिजनमा प्रवेश गरेको दिनदेखि नै ह्वाट द फ्लप कार्यक्रमको मिठाइलाल चरित्रलाई कार्यक्रममा समावेश गरिएको छैन ।

‘करिव साढे चार महिना यता यो कार्यक्रममा मिठाइलालको चरित्र छैन, जसले कुनै एउटा समुदायलाई होच्याएको आरोप लागिरहेको छ, स्टेशन मेनेजर डिसीको भनाइ छ-‘म टेलिभजिनमा भर्ना भए लगत्तै गरेको पहिलो काम नै मिठाइलाललाई हटाउनु हो ।’

यसैबीच व्यंग्यकार क्षेत्रीले पछिल्लो हप्ताको कार्यक्रममा महिला चरित्रमा प्रस्तुत भएर नागरिकता सम्बन्धि विवादमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको उक्त श्रृंखला समेत विवादमा परेको थियो ।

उक्त चरित्रका लागि पछिल्लो समय मधेशी आयोग, नेपाल प्रेस काउन्सिलमा प्रस्तोता क्षेत्री, कान्तिपुर टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, टेलिभिजनका समाचार प्रमुख प्रशान्त अर्याल तथा कार्यक्रम शाखा प्रमुख सुरज सिंह ठकुरी विरुद्ध उजुरी परेको छ ।

तपाईको प्रतिक्रिया