अभिनेत्री द्वय तापसी पन्नू र कंगना रनावटबीचको विवादले यतिबेला बलिउड तरंगित भएको छ । कंगनाले तापसीलाई ‘बी-ग्रेड’ अभिनेत्री भनेकी थिइन् । यसपछि उनीहरुबीच वार चलेको हो । तापसीले आफ्नो अन्दाजमा कंगनालाई जवाफ दिइरहेकी छन् । उनले केही समय अगाडि एक अन्तर्वार्तामा कसैको मृत्युलाई आफ्नो नीजि फाइदाका लागि प्रयोग गर्न नमिल्ने बताएकी थिइन् ।
तापसी र कंगनाको विवादमा बलिउड फिल्मकर्मीहरु पनि विभाजित भएका छन् । केहीले कंगनाको समर्थन गरेका छन् । कतिले भने तापसीलाई सपोर्ट गरेका छन् । सोनाक्षी सिन्हाले भने तापसीको तारिफ गरेकी छन् । उनले तापसीलाई देशको राष्ट्रपतिको रुपमा देख्न चाहेको समेत बताएकी छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘राष्ट्रपति पदका लागि तापसी ।’
सुशान्त सिंह राजपूतको निधनपछि चर्किएको नेपोटिज्मको विषयमा तापसीले भनेकी थिइन्, ‘नेपोटिज्मको विषयमा भइरहेको बहसलाई मानिसहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेका छन् । म त्यो इन्डस्ट्रीको बारेमा नराम्रो भन्दिनँ, जसले मलाई खाना र पहिचान दिएको छ ।’ दर्शक नै आउटसाइडरभन्दा स्टार किड्सको फिल्म हेर्न चाहने उनको भनाई छ ।
तापसीले थपेकी छन्, ‘इन्डस्ट्री नेपोटिज्मको एक हिस्सा हो । तर, जनता र मिडिया पनि त्यसको हिस्सा हो । किन मानिसहरु हाम्रो फिल्म फर्स्ट डे, फर्स्ट शो हेर्दैनन् ? किन उनीहरुले ‘सोन चिडिया’ लाई हिट बनाएनन् ? किन मानिसहरु आउटसाइडरभन्दा स्टार किड्सको फिल्म हेर्न बढी रुचाउँछन् ?’ सुशान्तको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा व्यापक बहस भइरहेको छ ।