काठमाडौं : दर्शकमाझ समाचार, मनोरञ्जनात्मक तथा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको एपीवान टेलिभिजन व्यावसायिक सफलताको अर्को उचाइमा पुगेको छ। लोकप्रिय कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर नयाँ कीर्तिमान बनाएको छ।
जनतामाझ तथ्य र निष्पक्ष विषयवस्तु प्रस्तुत गर्दै आएको एपीवान टेलिभिजनले वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा नाम लेखाएको छ। कार्यक्रम तमसोमा ज्योतिर्गमय सगरमाथाको आधार शिविरको सबैभन्दा माथिल्लो स्थान अर्थात् ५ हजार ५ सय ५० मिटरको उचाइमा छायांकन गरेर वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएको हो।
वर्ल्ड बुक अफ रेकर्डले एपीवान टेलिभिजनलाई विश्व रेकर्डको प्रमाणपत्र पनि प्रदान गरेको छ। शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र वर्ल्ड बुक अफ रेकर्डका नेपाल प्रमुख सागर कटवालले एपीवान टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्। कुनै पनि कीर्तिमान कायम गर्नु चुनौतीपूर्ण काम भएको भन्दै राज्यमन्त्री मानन्धरले आगामी दिनमा अझै सफलताको शुभेच्छा व्यक्त गरेका थिए। यसैगरी वर्ल्ड बुक अफ रेकर्डका नेपाल प्रमुख कटुवालले रोमाञ्चक मात्र नभई साहसिक कीर्तिमानले एपीवानको आगामी यात्रा अझ सफल रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले टेलिभिजन इतिहासमै सबैभन्दा उचाइमा रेकर्ड गरिएको कार्यक्रम संस्थाका लागि गौरवको विषय भएको बताए। विश्वको सर्वोच्च शिर सगरमाथाको आधार शिविरको सबैभन्दा माथिल्लो स्थानमा सञ्चालन गरिएको कार्यक्रम तमोसोमा ज्योतिर्गमयका प्रस्तोता एवं एपीवान टेलिभिजनका सम्पादक टीकाराम यात्रीले तत्क्षणको अनुभूति शब्दमा व्यक्त गर्न नसकिने बताए। त्यस्तै कार्यक्रम निर्माता फुर्वा शेर्पाले यो कठिन भए पनि विश्वमै नौलो प्रयास भएको अनुभूति सुनाए।
एपीवान टेलिभिजनको कार्यक्रम तमोसोमा ज्योतिर्गमय जेठ ४ गते सगरमाथाको आधार शिविरमा छायांकन गरिएको थियो। सो कार्यक्रम छायांकन समूहमा कार्यक्रम प्रस्तोता तथा सम्पादक यात्री, कार्यक्रम निर्माता शेर्पासहित अनुसन्धानकर्ता सरोज गौतम, क्यामरापर्सन नवराज अधिकारी, धनयोञ्जन तामाङ र सञ्जय पौडेल सहभागी थिए। कार्यक्रममा सबैभन्दा कम उमेरमा आठ हजारभन्दा माथिका विश्वका १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका मिङमा शेर्पासँग अन्तर्वार्ता लिइएको थियो।










