नेपाली फिल्मका एउटा युग हाँक्ने कलाकार हुन्, राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर । जति बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो, त्यसबेला उनीहरुले फिल्ममै आफूलाई समर्पित गरे । नेपाली फिल्म यो अवस्थासम्म आइपुग्नमा उनीहरुको त्याग, समर्पण र मेहनतको ठूलो योगदान छ । यसैले त यी तीन सुपरस्टारलाई नेपाली फिल्मको पिल्लर मानिन्छ ।

राजेश, सरोज र करिश्माले केही फिल्ममा एकसाथ काम पनि गरेका छन् । उनीहरुबीच व्यक्तिगत रुपमा पनि निकै राम्रो सम्बन्ध छ । करिअरको उत्कर्षमा रहँदा व्यस्तताका बावजूद पनि उनीहरु समय निकालेर भेटिरहन्थे । तर, केही वर्षदेखि भेटभाट त टाढाको कुरा उनीहरुबीच राम्रोसँग बोलचाल समेत हुन छाडेको छ । यो कुरा सरोज खनाल स्वयंले फेसबुकमार्फत् खुलाएका हुन् ।

उनले फेसबुकमा राजेश र करिश्मासँगको एक पुरानो तस्विर शेयर गर्दै लेखेका छन्, ‘कुनै बेला हामी तीन महानायक राजेश हमाल जी, महानायिका करिश्मा मानन्धर जी र म चलचित्रको छायांकनमा व्यस्तताको बावजूद बेलाबखत समय निकालेर भेटघाट गर्थ्यौं, भलाकुसारी गर्थ्यौं । तर आजको दिन फुर्सदै फुर्सद छ र पनि वर्षौं वर्ष हाम्रो भेटघाट त परै जाओस् बोलचालसम्म हुँदैन ।’

आफूहरुबीचको बोलचाल र भेटघाट अरुले जस्तै फेसबुकमा शेयर गरेका फोटोमा लाइक र कमेन्ट गर्दैमा सीमित भएको उल्लेख गर्दै उनले यस्तो किन हुन्छ ? भनेर प्रश्न गरेका छन् । उनको स्टाटसमा करिश्माले कमेन्ट गर्दै ‘सही कुरा’ भनेकी छन् । राजेश हमालले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । धेरैले सामाजिक सञ्जालका कारण प्रगाढ सम्बन्धहरु टाढिँदै गएको बताएका छन् ।

तपाईको प्रतिक्रिया