कलाकारको अफेयरका समाचारले फिल्म क्षेत्र सधैं तात्ने गरेको हुन्छ । यस्ता खबरले दर्शकलाई उत्साहित बनाउँछ भने मिडियाका लागि राम्रो मसला बन्छ । केही महिनायता अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम चर्चा मिडियाका लागि ‘हटकेक’ बनेको छ । विगत ६-७ महिनायता उनीहरु एकअर्कासँँग निकै नजिक छन् । यद्यपि, दुवैले प्रेम स्वीकार गरेका छैनन् ।
प्रेम टुट्दा वा जोडिदा कलाकारको फ्यान फलोइङ घट्ने र काम पाउन छाड्ने आम बुझाइ छ । त्यसैले पनि कलाकारहरु आफ्नो प्रेमलाई लुकाउन खोज्छन् । कतिलाई भने प्रेम चर्चाले फाइदा पनि गरेको छ । प्रेममा रहेको जोडीलाई लिएर फिल्म र म्यूजिक भिडियो बनाउँदा मिडियाले हाइप बनाइदिने लोभ निर्माताहरुमा छ । जसले गर्दा प्रेममा रहेका कलाकारलाई कामको कमी हुँँदैन ।
वर्षा र राजलाई पनि फिल्म क्षेत्रमा चलेको प्रेमको चर्चाले फाइदा हुन थालेको छ । अहिले यो जोडीलाई लिएर म्यूजिक भिडियो बनाउन चाहने निर्माताहरु बढेका छन् । यसैक्रममा, उनीहरुले पहिलो पटक एक म्यूजिक भिडियोमा काम गरेका छन् । बिहीवार छायांकन भएको गायक नविन के. भट्टराईको स्वरमा रहेको ‘सम्झिरहन्छु’ गीतमा वर्षा र राज प्रेम जोडीको रुपमा प्रस्तुत छन् ।
राज कटुवालको फिल्मी करिअर खासै सुखद छैन । उनले अभिनय गरेका ‘लाल्टिन, लीला’ लगायतका फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिए । केही वर्षयता उनको हातमा फिल्म नभएको चर्चा छ । अभिनेत्री पूजा शर्मासँग भेटघाटको क्रममा उनी वर्षासँग नजिक भएका थिए । म्यूजिक भिडियोमा काम गरिसकेको यो जोडी भोलीका दिनमा फिल्ममा पनि देखिए अचम्म नमान्दा हुन्छ ।










