प्रदेश १ मा पहिलो पटक हाउस डान्सको आधारभूत कार्यशाला सम्पन्न भएको छ ।
विराटनगरस्थित टच डान्स स्टुडियोमा बिहीबार सम्पन्न भएको उक्त कार्यशालामा विशाल सापकोटाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
प्रदेश १ का विभिन्न जिल्लाबाट १२ देखि २५ वर्ष उमेर समूहका युवायुवती र बालबालिकाको कार्यशालामा सहभागी रहेको टच डान्स स्टुडियोका संस्थापक निश्चल राना मगरले बताए।
सन् १९७०/८० को दशकमा संयुक्त राज्य अमेरिकाको न्युयोर्क र सिकागो सहरबाट सुरु भएको हाउस (डान्स स्टाइल) नेपालमा कसले र कहिले भित्र्यायो भन्नेबारे यकिन नभए पनि कार्यशालाका सहजकर्ता सापकोटाका अनुसार नेपालमा विगत चार वर्षदेखि हाउस डान्स स्टाइलको अभ्यास भइरहेको छ ।
‘नेपालमा खासै हाउसबारे चर्चा हुँदैन, यो फर्ममा नाच्ने मानिसहरू पनि कम हुनुहुन्छ,’ कार्यशाला र हाउस डान्सबारे सहजकर्ता सापकोटाले भने, ‘त्यही भएर हाउसबारे कार्यशाला प्रदेश १ बाट सुरु गरेका छौँ ।’
सङ्घीय राजधानी काठमाडौंमा समेत हाउस फर्म फलो गर्ने डान्सरको सङ्ख्या कम छ । ठूलो र बास–हेभी इलेक्ट्रोनिक डान्स म्युजिकमा गरिने हाउस डान्समा ज्याकिङ, फुटवर्क र लफ्टिङको सम्मिश्रण हुने गरेको छ ।
हाउस डान्स नृत्यको त्यस्तो विधा हो, जसमा अभिव्यक्ति स्वतन्त्रता, सहयोग, सद्भाव, परिवार–भाइचाराको भावना र सङ्गीतसँगको इमान्दार सम्बन्धलाई नृत्यमार्फत देखाइने गरिन्छ । यसलाई सरल भाषा सामाजिक नृत्य भनेर समेत चिनिने गरिएको छ ।
प्रदेश १ मा पहिलो पटक गरिएको कार्यशालाले आफूहरूलाई थप हौसाला मिलेको र आगामी दिन हाउससम्बन्धी थप कार्यशाला गरिने जानकारी कार्यशालाको आयोजक टच डान्स स्टुडियोका सहजकर्ता सापकोटाले बताए ।