काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । जारी चुनावमा अहिलेसम्म १हजार ३सय ६५ मत खसेको छ । दिउँसो पौने ४ बजेसम्म १ हजार ३ सय ६५ प्रतिनिधिले मतदान गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ ।
ढिलागरी सुरु भएको मतदानमा सभापतिका प्रत्यास शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।
अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् ।