काठमाडौं । प्रत्येक्ष दोहोरीको इतिहास मै सबैभन्दा बढी पुरस्कार राशि राखिएको राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८ पर्सि शनिबारदेखि आयोजना हुने भएको छ । आयोजक संस्था डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।

देशका विभिन्न जिल्लाहरुमा बसोवास गर्ने जातजाती तथा विभिन्न जिल्लाका स्थानीय कला, संस्कृति र पहिचान झल्किने झाँकीहरुहरुसहित यो कार्यक्रम आयोजना हुने आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । न्युनतम दश लाख दर्शकले प्रत्येक्ष अवलोकन गर्ने र देशका हरेक जिल्लाहरुबाट प्रतिस्पर्धीहरु सहभागी हुने अपेक्षा समेत आयोजकले गरेको छ ।

लोकगीत संगीत हाम्रो धन, मौलिक कला संस्कृतिहरुको प्रवद्र्धन मुलमन्त्र सहित आयोजना हुन लागिरहेको यस महोत्सवमा  प्रथम हुनेले नगद पुरस्कार ५ लाख,दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाख,सान्त्वना पुरस्कार नगद १ लाख संगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

उत्कृस्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्नेछन् । यस महोत्सवलाई प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला समेत भनिएको छ ।

यस कार्यक्रमका मुख्य आकर्षणहरुमा खुल्ला प्रतियोगिता मध्यकै पहिलो ठुलो धनराशी पुरस्कार, विभिन्न विधाका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति, विशिष्ट स्रष्टा सर्जक सम्मान, विभिन्न जात जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शन, निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क बीमा, विभिन्न खानाका परिकारहरुको स्टल तथा दर्शकले निशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ । साथै झाँकी सहितको -याली प्रदर्शन पनि हुनेछ ।

प्रतियोगितामा ८० समुहको सहभागिता रहने छ ।  पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

टुबोर्गको प्रस्तुती रहेको महोत्सवमा मुख्य प्रायोजनमा बागेश्वरी खड्का हाउजिङ डेभलपर्स रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोक गीत संगीतको जगेर्ना गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया