काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माण नेकपा एमालेको गन्तव्य भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई पार्टीले सधैं सम्मान गर्ने बताएका छन्।
‘एमाले नेतृत्वको सरकारले औद्योगिक वातावरण एवं श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो पार्टीको अगुवाईमा संविधानमै मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरायो।’
नेकपा एमालेको अगुवाईमा नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता भएको उनको भनाइ छ। ‘हाम्रो पार्टीले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको छ,’ शुभकामना सन्देशमा उल्लेख छ। आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित एमाले तीनै तहका सरकारमा पुग्ने उनले बताए।




































