भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरूष’ले मोफसल केन्द्रित प्रचार अभियान सकाएको छ । असोज २५ मा पूर्वको विर्तामोडबाट सुरु भएको मोफसल यात्रा असोज ३० गते पोखरामा सांगीतिक कार्यक्रम गर्दै सकिएको हो । अब फिल्मको टिम काठमाडौं केन्द्रित प्रचारमा जुटेको छ ।
मोफसलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै फिल्मको टिमले पत्रकारसँग भेटघाट गरेर ‘महापुरूष’को बारेमा अन्तरक्रिया पनि गरेको थियो । मोफसल यात्रामा कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, हाँस्य कलाकार सुमन कार्की, गायक निशान भट्टराई, गायिकाहरु रचना रिमाल, एन्जिला रेग्मी सहभागी थिए ।
कोरोना महामारीपछि दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशी लागेको कलाकार आचार्यले बताए । यसअघि ‘शत्रु गते’ र ‘दाल भारत तरकारी’को प्रचारका लागि मोफसल भ्रमणमा गएका उनले भने, ‘मोफसलका दर्शकबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिँदैन । बढी भन्दा बढी दर्शकहरुलाई भेटेर ‘महापुरूष’ पारिवारिक कथामा बनेकाले स-परिवार हेर्न निम्तो गरेका छौँ ।’
फिल्मका कलाकार तथा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले मोफसल भ्रमणको क्रममा फिल्मप्रति दर्शक उत्साहित रहेको पाइएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हामीले निर्माण गरेको अघिल्लो फिल्मले दर्शकसँग सम्बन्ध जोड्न मद्दत गरेको छ । ‘महापुरूष’लाई लिएर मोफसलका दर्शकहरु उत्साहित रहेको पायौं । टूरले दर्शकको मनसाय र भावना बुझ्ने मौका पनि दियो ।’
प्रदीप भट्टराई निर्देशित यो फिल्मबाट अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यू गरेका छन् । फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । षट्कोण आर्ट्सद्वारा निर्मित यस फिल्मको निर्मातामा दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डि. गुरुङको सम्पादन छ । युवापुस्तामाझ चर्चित कवि नवराज पराजुलीले गीतकारको रुपमा यो फिल्मबाट डेब्यु गरेका छन् ।