फिल्म पृष्ठभूमिभन्दा बाहेकको व्यक्तिलाई नेपाली फिल्ममा प्रवेश गर्न त्यत्ति सहज छैन र हुन्न । त्यसका लागि मिहिनेत र धैर्यताको आवश्यकता पर्छ । फिल्ममा डेब्यूको अवसर पाएपछि आफूलाई टिकाइराख्न झनै सहज छैन । किनकि, करिअरलाई अघि बढाउन हिट फिल्मको खाँचो पर्छ र अभिनयमा अब्बलता पस्कन सक्नु पर्छ । यी दुवै कुराको तारतम्य मिलेन भने करिअर उठ्न सक्दैन ।
केहीको हकमा फिल्म नचलेर पनि अभिनयको बलमा करिअर चम्किएको छ । कसैलाई भने फिल्म हिट भएर पनि टिक्न मुश्किल छ । त्यसैले करिअर टिकाउन फिल्मको सफलता र अभिनय दुवै चाहिन्छ । अभिनेत्री क्रिस्टिना गुरुङकै कुरा गर्ने हो भने उनको डेब्यू फिल्म ‘प्रेमगीत ३’ हिट भयो । यो उनका लागि निकै सुखद् हो । तर, दुर्भाग्य ! उनले अभिनयको प्रशंसा कमाउन सकिनन् ।
समीक्षकहरुले फिल्मको कमजोर पक्षमध्ये क्रिस्टिनाको अभिनयलाई पनि खोट्याएका थिए । उनको अभिनय र डाइलग डेलिभरी अत्यन्त कमजोर रहेको टिप्पणी भएको थियो । यद्यपि, समीक्षक र दर्शकले उनको सुन्दरताको भने खुलेरै वर्णन गरेका थिए । तर, फिल्ममा लामो यात्रा गर्न मुख्यतः कलाकारको अभिनयकै वर्णन हुनुपर्छ । यो कुरामा भने क्रिस्टिना पहिलो फिल्ममै चुकेकी छन् ।
डेब्यू फिल्मको सफलताले क्रिस्टिनालाई धेरै फिल्मबाट प्रस्तावको ओइरो आउनेमा दुईमत छैन । तर, नाम नै ब्रान्ड बनेको ‘प्रेमगीत ३’ जस्तै अरु फिल्म पनि सफल हुन्छन् भन्ने ग्यारेन्टी हुन्न । त्यो अवस्थामा अभिनयको प्रशंसा हुन सके मात्रै पनि करिअरले गति समात्न सक्छ । त्यसैले क्रिस्टिनाले आगामी प्रोजेक्टका लागि आफ्नो अभिनयमा निखारता ल्याउन हदै मिहिनेत गर्न आवश्यक छ ।
‘प्रेमगीत’ टिमसँग अत्यन्त नजिक भएकी उनी चाँडै यो टिमको नयाँ फिल्ममा देखिने सम्भावना पनि बलियो रहेको स्रोत बताउँछ । निर्माता सन्तोष सेन यतिबेला ठूलो स्केलको एक फिल्म निर्माणको तयारीमा छन् । उक्त फिल्ममा अभिनेता प्रदीप खड्काका साथै क्रिस्टिनाको सम्भावना पनि बलियो रहेको बताइन्छ । उनको पुनः सन्तोषसँग सहकार्य भए करिअर केही मजबूत भने हुन सक्छ ।