शनिबार झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शिक्षक शिक्षिकाको सम्मानमा सांगीतिक कार्यक्रम गरिएको छ । दुई सयभन्दा बढी बालबालिकाले अध्ययन गरिरहेका विद्यालयका शिक्षक-शिक्षिकाको सम्मानमा आयोजित कार्यक्रममा अभिनेता सुनिल थापा, गायक रामकृष्ण ढकाल, नायिका पूजा शर्मा, गायिका एलिना चौहान, गायक विकास लिम्बू लगायतले आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले विद्यालयमा अध्यापन गराउने र अध्यापनमा सहयोग गरेका शिक्षक-शिक्षिकाहरुलाई सम्मानपत्र समेत हस्तान्तरण गरे ।
कार्यक्रममा गायक ढकालले पढ्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै यस्तो कुरामा सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए । फाउण्डेसनका प्रमुख अर्जुन सुवेदीले एक कक्षापछि बालबालिकाहरुलाई अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै सरकारले सहयोग गरेको खण्डमा आफूहरुले अझै माथिल्लो कक्षाको व्यवस्था गर्न सक्ने बताए ।
शरणार्थी शिविरमा रहेका बालबालिकाका लागि नक्षत्र फाउण्डेसनले विद्यालय भवन बनाइदिएको छ । अमेरिकामा बस्दै आएका अर्जुन सुवेदीले तीन वर्षदेखि ‘अर्ली चिल्ड्रेन डेभलपमेन्ट सेन्टर’मा पक्की भवन बनाएर कक्षा एक सम्मको अध्ययनमा सहयोग गरिरहेका छन् ।