लक्ष्मण पोखरेल
काठमाडौं : नेपाली चर्चित हास्य टेलिश्रृंखला भद्रगोल र सक्किगोनीका चर्चित पात्र ‘काकु’ अर्थात लेखक कलाकार तथा निर्देशक दीपकप्रसाद आचार्यले आफ्नो गृह जिल्ला धनकुटाका प्रतिभा भएका गायक गायिकाका लागि सुनौलो अवसर प्रदान गर्ने भएका छन् । राम्रो स्वर भएका तर पैसाको अभावमा गीत रेर्कड गर्न नसकेका व्यक्तिहरुको सहयोगका लागि उनले उक्त कार्य गर्न लागेका हुन् । आचार्यले त्यस्ता कलाकारहरुका लागि गीत रेकर्डका साथै म्युजिक भिडियो निर्माणसमेत गर्ने छन् ।
निर्देशक आचार्यले यसका लागि फेसबुक आइडीमार्फत कलाकारहरुको अडिसनसमेत लिइरहेका छन् । हालसम्म ४० जनाभन्दा बढी गायक गायिकाले उक्त अडिसनमा भाग लिइसकेका छन् । गायक गायिका बन्ने इच्छा भएपनि पैसाको अभावमा आफ्नो प्रतिभा बाहिर ल्याउन नसकेका जुनसुकै उमेरका प्रतिभावान कलाकारका लागि आफूले अवसर दिन लागेको उनी बताउँछन् ।
बाल कलाकारहरुले सहभागिता जनाउन नसक्ने उक्त अडिसनमा भाग लिने गायक गायिकाले गीत गाउनुपर्ने छ । गीतकार तथा निर्वाचन आयुक्त दिनेश थपलियाको शब्दमा तयार हुने गीतमा संगीतकार लक्ष्मण पोखरेलले गीतको संगीत तयार पार्दैछन् ।
बेला बखत सामाजिक काममा सक्रिय भइरहने आचार्य आर्थिक अभावका कारण अगाडि बढ्न नसकेका कलाकारहरुलाई अगाडि बढ्न हौसला मिलोस् भनेर उक्त कार्य गर्न लागेको बताउँछन् । ‘हाम्रो सानो सहयोगले कसैको करियर बन्छ भने किन नगर्ने भन्ने सोचले उक्त कार्य गर्न लागेको हुँ,’ उनी भन्छन् ।
आगामी दिनमा यस्ता कार्यहरु विभिन्न ठाउँमा पनि शुरु गर्ने आचार्यले बताए । उनले भने, ‘पैसाको भरमा अघि बढिरहेको अहिलेको कलाकारितामा कला भएकाहरु ओझेलमा पर्नु पक्कै पनि राम्रो होइन, त्यसैले हामीले देश र समाजका लागि त्यस्ता प्रतिभाहरुलाई अघि बढाउनुपर्छ, त्यसका लागि मेरो साथ र सहयोग सधैं रहिरहने छ ।’
आचार्यको उक्त कार्यलाई लिएर यतिबेला चौतर्फी तारिफ भइरहेको छ । उक्त कामका लागि उनले अडियो भिडियो निर्माणमा तीनदेखि चार लाखसम्मको लगानी गर्ने छन् । आगामी नयाँ साल वैशाख १ गते गीतलाई सार्वजनिक गर्ने गरी काम भइरहेको उनले जानकारी दिए ।