गत असार १९ गते अभिनेत्री पूजा शर्माले आफ्नो नयाँ फिल्मका लागि मुख्य अभिनेतामा अनमोल केसीसँग सम्झौता गरेकी थिइन् । पूजाको निर्माण र सुदर्शन थापाको निर्देशन रहने फिल्ममा अनमोल र पूजाको जोडी बाँधिने बताइएको थियो । तर, केही दिनयता अनमोलले यो फिल्मबाट हात झिकेको गाइँगुइँ छ । उनले फिल्म साइन गर्दाखेरि बुझेको रकम समेत फिर्ता गरिसकेको बताइन्छ ।
गत फागुनमा प्रदर्शित फिल्म ‘छड्के २’मा निर्वाह गरेको क्यारेक्टर दर्शकले नरुचाएपछि अनमोल तत्काल फरक खालको भूमिका गर्ने सोचमा छैनन् । पूजा र सुदर्शनको फिल्ममा फरक भूमिका र लुक्समा प्रस्तुत हुनुपर्ने भएपछि उनले काम नगर्ने निर्णय गरेको बताइन्छ । तर, निर्देशक सुदर्शन थापाले अनमोलले फिल्म छाडेको चर्चामा एक प्रतिशत पनि सत्यता नभएको दाबी गरेका छन् ।
फोन संवादमा उनले भनेका छन्, ‘अनमोलले फिल्म छाडेको कुरामा एक प्रतिशत पनि सत्यता छैन । हामीबीच नियमित रुपमा छलफल भैरहेको छ । सम्भवतः अबको ५/६ दिनमा केही टुंगो लाग्न सक्छ । हामीले गर्न चाहेको चीज अलि ‘हेभी’ भएका कारण पनि समय लागेको हो ।’ सुदर्शनले फिल्म निर्माणको ‘च्याप्टर क्लोज’ भएको चर्चालाई पनि अफवाह बताएका छन् ।
पूजा र सुदर्शनले केही समयअघि स्क्रिप्ट लेखनका लागि भारतबाट राइटरहरु झिकाएका थिए । करिब दुई हप्ता स्क्रिप्ट राइटिङको काम भएको थियो । तर, फिल्मको काम स्क्रिप्ट लेखनभन्दा अगाडि बढ्न सकेको छैन । स्क्रिप्टमा अनमोलको चरित्र निकै पृथक र चुनौतीपूर्ण निस्किएको स्रोत बताउँछ । तर, ‘छड्के २’को असफलताले अनमोल त तर्सिए नै, पूजा-सुदर्शन पनि नराम्ररी झस्किए ।
केही हप्ता अगाडि पूजाले एक भिडियो अन्तर्वार्तामा आफूले अनमोललाई फरक रुपमा देखाउने सोचसहित फिल्मको परिकल्पना गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यो फिल्म खासमा मेरो लागि भन्दा पनि अनमोललाई नै ‘बेस्ट’ देखाउँछु भनेर सुरु गरेको हुँ । यो फिल्म आज या भोलि नै हुँदैन । यसमा अनमोलको पूरै लुक्स परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसैले केही समय लाग्नेछ ।’