विराटनगर— धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनकुटाको चौबीसे गाउँपालिकाका सुजन खतिवडालाई प्रहरीले पक्राउ गरेको हो।
खतिवडाले गत २८ मंसिरको साँझ करिब ७ बजे ती बालिकालाई ललाइफकाइ नजिकैको खेतमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको थियो। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले बताए।
खतिवडा विरुद्ध बालिकाकी दिदीले प्रहरीमा बिहीबार किटानी जाहेरी दिएकी थिइन्। उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र घटनाबारे अनुसन्धान अघि बढेको खनालले बताए।







































































