प्रिय जीवन,
तिमीलाई यो पत्र लेख्दैछु, जुन मेरो हृदयको गहिराइबाट निस्किएको माया, सम्झना, आशा र बिश्वासको दस्तावेज हो। आज मन निकै भारी छ, शायद तिमीलाई धेरै सम्झिएको छु। तिमी बिना जीवन अधुरो लाग्न थालेको छ। तिमी टाढा हुँदा म यो संसारभित्र भए पनि तिमीबिनाको संसार जस्तो लाग्छ। साँच्चै भन्नुपर्दा, तिमीबिना म अधूरी छु – तिमी नै मेरो सम्पूर्णता हौ।
आज बिहानको सुर्य किरणले मलाई तिमीलाई झन गहिरो गरी सम्झाइदियो। मलाई याद आयो त्यो दिन, जब हामी पहिलोपटक भेट भएका थियौं। तिम्रो आँखा, तिमीले गरेको त्यो पहिलो नजर, त्यो मधुर मुस्कान – ती सबै सम्झँदा आज पनि मेरो मुटुको धडकन बढ्छ। तिमी मेरो जीवनमा एउटा यस्तो पात्र भएर आयौ, जसले सबै रंगहरू ल्यायो। तिमी सँगै हुँदा समय कहाँ बित्थ्यो, त्यो कहिल्यै थाहा हुन्थेन। त्यो पहिलो स्पर्श, त्यो पहिलो हात समातिएको क्षण, र त्यो पहिलो ‘म तिमीलाई माया गर्छु’ भन्ने बोली – ती पलहरू मेरो जीवनको अमूल्य निधि बनेर बसेका छन्।
जब तिमी टाढा गयौ, मलाई लाग्यो समय रोकिएजस्तो भयो। तिमीले छोडेको त्यो शून्यता, त्यो मौनता – त्यो सबै मेरा लागि अन्धकार जस्तै बन्यो। तिमी हाँस्दा जुन उज्यालो मेरो जीवनमा छायो, त्यो तिमी नभएसम्म फेरि फर्किएन। साँझ पर्दा तिमी सँगै भएर टहलिने ती पलहरू अब सम्झनामा मात्र सीमित छन्। कहिलेकाहीँ एक्लै बस्थें, चियाको कप हातमा लिएर, अनि सम्झन्थेँ – कति कुरा अधुरा छन् हामीबीच, कति सपना तिमी सँग बाँड्न बाँकी छन्।
तिमी बिना जीवन जीउन त सकिन्छ होला, तर त्यस जीवनमा स्वाद हुँदैन। यो मुटु त तिमीले कब्जा गरिसकेको छ। म कहिलेकाहीँ आफैंसँग प्रश्न गर्छु – “के तिमी पनि मलाई यति नै सम्झन्छौ? के तिमीलाई पनि म सँग बिताएका ती पलहरू त्यतिकै मीठा लाग्छन्?” उत्तर त थाहा छैन, तर आशा भने धेरै छ। तिमी फर्किनेछौ भन्ने विश्वासले म जीइरहेकी छु, तिमी सँग फेरि एकपटक नजर जुधाउने आशाले म बाँचिरहेकी छु।
जीवनमा धेरै कुरा आउँछन् – सफलता, असफलता, सपना, संघर्ष – तर माया भने साँचो हुँदा कहिल्यै मर्दैन भन्ने तिमीले नै सिकायौ। तिमी मेरो लागि केवल प्रेमी होइनौ – तिमी मेरो प्रेरणा, मेरो साथी, मेरो आश्रय, अनि मेरो भविष्य हौ। जब म निराश हुन्छु, तिमीले भनेका कुरा सम्झिन्छु – “तिमी बलियो छौ, तिमी सक्षम छौ, म तिमी सँग छु।” ती शब्दहरूले आज पनि मलाई हिम्मत दिन्छन्। तिमी नभए पनि तिमी सँगको माया अहिले पनि मभित्र बाँचिरहेको छ।
कहिलेकाहीँ म सँगै बिताएका ती साधारण पलहरू सम्झन्छु – चिसो हावामा तिमीले दिएको त्यो हातको ताप, साँझको जाममा सँगै हिडेका ती बाटाहरू, तिमीले मेरो लागि बनाएको त्यो सानो कार्ड जसमा लेखिएको थियो, “तिमी मेरो संसार हौ।” ती साना साना कुराहरूले मलाई सम्झाउँछन् कि तिमी कति विशेष छौ मेरो लागि।
तिमीलाई माया गर्नु कुनै रोजाइ थिएन – त्यो त हृदयको स्वाभाविक प्रतिक्रिया थियो, जुन तिमीले आँखा झिम्क्याउँदा सुरु भएको थियो। तिमीले हाँस्दा मेरो मन रमाउँछ, तिमी रिसाउँदा मलाई डर लाग्छ, तिमी रून्छौ भने म भित्रभित्रै टुट्छु। तिमी मेरो भावना हौ – जसले बिना बोले मेरो मन बुझ्छौ।
आजकल जीवनका हरेक पाटोमा तिमीको अभाव महसुस गर्छु। बिहान उठ्दा, तिमीलाई “शुभ प्रभात” भन्न नपाउँदा मन खिन्न हुन्छ। दिउँसो काम गर्दै गर्दा तिमीले पठाउने त्यो “तिमीलाई माया गर्छु” भन्ने सानो सन्देशको प्रतिक्षा गर्छु। साँझ पर्दा तिमी सँग फोनमा कुरा गरेर दिन सकुशल समाप्त भएको अनुभव गर्न चाहन्छु। र रातको अन्धकारमा तिमी सँग बिताउने ती कुराकानीहरू, जसमा हामी भविष्यका घर, बच्चा, अनि बुढेसकालको योजना बनाउँथ्यौं – ती सबै सम्झनाले निन्द्रा हराउँछ।
तिमी सँग विवाह गर्ने कल्पना गर्दा मेरो मुटु रमाउँछ। म तिमी सँग बिहान उठ्न, तिमीको लागि चिया बनाउने, तिमी थाकेर फर्किंदा तिमीलाई अँगालो हाल्ने, अनि एकअर्कालाई माया गरेर बाँच्ने त्यो जीवन जिउन चाहन्छु। म केवल तिमी सँग रमाइलो पल मात्र होइन, कठिन घडी पनि बाँड्न चाहन्छु। म तिमी सँग हाँस्न, रुन, संघर्ष गर्न, जित्न अनि बाँच्न चाहन्छु।
तिमी बिना मेरो जीवन पूर्ण हुन सक्दैन। तिमी नै मेरो वर्तमान हौ, र तिमी नै मेरो भविष्य हौ। म विश्वास गर्छु – एकदिन हामी फेरि भेट्नेछौं। त्यो भेट केवल एक दिनको लागि होइन, जीवनभरको लागि हुनेछ। त्यो दिन म तिमीलाई फेरि अँगालोमा हाल्नेछु, अनि तिमीले सोध्नेछौ – “किन यति धेरै सम्झियौ त मलाई?” अनि म मुस्कुराउँदै भन्छु – “किनभने तिमी बिना म केही होइन।”
म तिमीलाई वाचा गर्छु – म सदैव तिमी सँग रहन्छु, तिमी जस्तो अवस्थामा भए पनि माया गरिरहन्छु। माया केवल राम्रो समयमा होइन, अप्ठ्यारो घडीमा पनि गरिन्छ भन्ने कुरा म तिमी सँग सिकेकी छु।
प्रिय, यो पत्र त केवल शब्दको समुच्चय हो, तर हरेक अक्षरमा मेरो माया, मेरो आत्मा र मेरो जीवनको अंश छ। तिमीले यो पत्र पढ्दा तिमीलाई पनि मेरो माया महसुस होस् भन्ने चाहना राखेकी छु। यदि तिमीलाई समय मिल्छ भने, एकपटक मेरो लागि समय निकाल, अनि याद गर– तिमी सँग कसैले साँच्चै मनदेखि माया गरेको छ।
तिमी मेरो लागि सधैं विशेष रहन्छौ। तिमी मेरो जीवनको त्यो गीत हौ, जसलाई म अनवरत गाउन चाहन्छु, तिमी त्यो कविता हौ, जसलाई म हजारपटक पढ्न चाहन्छु। तिमी त्यो आकाश हौ, जसमा मेरा सपनाका ताराहरू टाँसिएका छन्।
तिमीलाई हरेक पल, हरेक सास र हरेक धडकन सँगै माया गर्छु।
तिम्री सधैंकी
आस्था