दशैंमा फिल्म भिडन्तको चर्चा विस्तारै सेलाउँदै गर्दा फागुनको खैलाबैला सुरु भएको छ । फागुन महिनामा यसपटक केही दिन बिदा पर्दा अधिकांश मेकरको आँखा पुगेको छ । यहीकारण, फागुन १ र फागुनको १५ गते फिल्म भिडन्त राम्रै हुने देखिएको छ ।

फागुन १ गते फिल्म ‘लालीबजार’ले प्रदर्शन मिति तय गरेपछि सामाजिक संजालमा खैलाबैला नै मच्चिएको छ । यसअघि यो मितिमा ‘डबल ट्रिपल र कल्ली’ले प्रदर्शन मिति तय गरिसकेका छन् ।

वुझिएअनुसार, यही मितिमा अन्य केही फिल्मका निर्माताले पनि प्रदर्शन मिति तय गर्ने तयारी गरेको वुझिएको छ । फागुन १५ ‘आ बाट आमा’ले प्रदर्शन मिति तय गरेको छ । तर, यो मितिमा यो फिल्म सोलो रिलिज हुन पाउने अवस्था छैन । अन्य केही मेकर पनि यही मितिमा रिलिज गर्ने तयारीका साथ अगाडि बढेका छन् ।

‘लालीबजार’ फागुनको १ गते आउने भएपछि कल्लीका निर्देशक लक्ष्मण सुनारले सामाजिक संजालमा लेखेका छन्–‘कोही फिल्मको पोस्टर ल्याएर तर्साउन खोज्ने, कोही फिल्म घोषणा गरेर तर्काउन खोज्ने, हामी पोष्ट प्रोडक्सन गरिराको मान्छे तर्सिदिन पर्ने । एटम बम भन्दा कम छैन फागुन १ ।’

उनले, छायांकनमै नगएका फिल्महरूले पोष्ट प्रोडक्सनमा रहेको फिल्मका मेकरलाई तर्साउन खोजेको तर्क गरेका छन् । तर, फागुनको १ गते फिल्म बजारमा राम्रै भिडन्त हुने देखिएको छ । जसको खैलाबैला अहिलेबाट नै सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया