विराटनगर – उद्योग संगठन मोरङको दुई बर्षे कार्यकालका लागि नवनिर्वाचित नेतृत्वले पाँच बुँदे रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । बिहीबार विराटनगरमा नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठी नेतृत्वको कार्यसमितिले रणनीतिक कार्य योजना सार्वजनिक गरेको हो ।
अध्यक्ष राठी संगठनको ५२ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । उनले मुलुकको औद्योगिक वातावरणलाई थप सुदृढ बनाउँदै औद्योगिकीकरणको प्रवर्द्धन गर्ने, उद्यमशीलताको विकास गर्ने र नीति वकालतलाई सशक्त पार्ने नेतृत्वदायी संस्थाका रूपमा संगठनलाई उभ्याउने प्रतिबद्धता जनाए । उनले २०८२–२०८४ को दुई बर्षे कार्यकालमा मुलुकको औद्योगिक क्षेत्र फस्टाउने वातावरण निर्माण गर्न सरकारसमक्ष आग्रह गरे ।
औद्योगिक वातावरण बनेमात्रै उद्योग व्यवसाय सशक्त हुने, व्यावसायिक सहकार्य बलियो बन्ने र दिगो आर्थिक विकासको आकांक्षा पुरा हुने बताए । साथै, लगानीको वातावरण निर्माण गर्न र सहज बनाउन नीति निर्माणमा पहल गर्ने, व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सेवा प्रदान गर्ने र उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रमुख प्राथमिकता तय गरेको बताए ।
नवनिर्वाचित कार्यसमितिले अघि सारेको दुई बर्षे रणनीतिक कार्ययोजनाले कोशी प्रदेशको उद्योग व्यवसाय क्षेत्रलाई अझ स्मार्ट बनाउने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नीति क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारले समेत आवश्यक सहयोग गरिरहेको र लगानी प्रवर्द्धनमा सहकार्य गर्दै आएको बताए ।