भोजपुर, २०८२ असार १४ गते शनिबार । यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहजता भएको हो ।
दावा बजार क्षेत्रमा रहेको पानीको हाहाकारलाई ध्यानमा राख्दै आयोजना निर्माण सम्पन्न भएपछि यहाँको पानीको समस्या हल भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले जानकारी दिनुभयो । आयोजना सम्पन्न पश्चात यहाँका ५० घरमा धारा जडान गरेर पानी वितरण भइरहेको उहाँको भनाइ छ ।
“दावा खानेपानी आयोजना सञ्चालनमा आएको छ”अध्यक्ष प्रधानले भन्नुभयो, “यो आयोजनाबाट ५० घरमा पानी जडान गर्न सफल भएका छौँ । अहिले यो क्षेत्रमा पानीको समस्या छैन ।”
दावा बजार खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीयको वषौँदेखीको पानीको समस्या अन्त्य भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । यहाँ कार्यालयको करिव रु ६० लाख लागतमा आयोजना निर्माण गरिएको प्रमुख ठाकुरको भनाइ छ । यो आयोजनाको मुख्य लाइन चार किलो मिटर र वितरण लाईन चार दशमलव ५ किलोमिटर रहेको कार्यालयले जनाएको छ ।
“दावा खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ” प्रमुख ठाकुरले भन्नुभयो, “आयोजना सञ्चालन पश्चात यहाँका नागरिकको वषौँदेखिको पानीको समस्या हटेको छ । हामीले यो आयोजनाको थलगत अनुगमन पनि गरेका छौँ ।” पानीको समस्या समाधानको लागि जिल्लाका विभिन्न ठाउँमा खानेपानी आयोजना निर्माणको काम धमाधम भइरहेको प्रमुख ठाकुरको भनाइ छ ।
दावा बजार खानेपानी आयोजना सञ्चालनमा आएपछि घण्टौँ लगाएर पानीको जोह गर्नु पर्ने समस्यमाबाट मुक्त भएको स्थानीयबासी लक्ष्मी भण्डारीले बताउनुभयो । आधा रातदेखि लाइनमा बसेर टाढाको धारा, कुवाबाट पानी ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।
“दावा क्षेत्रमा पानीको धेरै नै समस्या थियो” उहाँले भन्नुभयो, “पानीको जोह गर्न हामीलाई धेरै समय लाग्थ्यो । अहिले घर घरमा धारा जडान भएपछि हाम्रो पुस्तौदेखीको समस्या हटेको छ ।” घरमा धारा जडान भएपछि सरसफाईसँगै घरको दैनिक कामकाजमा सहजता भएको उहाँको भनाइ छ ।