विराटनगर । मोरङको कटहरीमा ट्याक्टर चालकले लाट्ठीले आक्रमण गर्दा ट्रक चालक गम्भीर घाइते भएका छन् । कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि नामक उद्योगभित्र बुधबार घटना भएको हो ।
प्रहरीका अनुसार उक्त उद्योगमा गाडीका पुराना टायरहरु प्रशोधन गरिँदै आएको छ । को १ त ५९३३ नम्बरको ट्याक्टरले उद्योग परिसरमा माटो भर्ने काम गरिरहेको थियो । ना ५ ख ५६१६ नम्बरको ट्रक पुराना टायर लिएर त्यहाँ पुगेको थियो । ट्रकले टायर झार्दै गर्दा चालकहरुबीच विवाद प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकले टायर झार्ने क्रममा ट्याक्टरको बाटो रोकेको भन्दै ट्याक्टर चालक कटहरी–३ का अन्दाजी ३० वर्षीय दिपेश कामतले आक्रमण गरेका हुन् । कामतको आक्रमणबाट ट्रक चालक सर्लाहीको धुर्कौली घर भएका ५६ वर्षीय गार्खबहादुर दोङ गम्भीर घाइते भएका छन् ।
टाउकोमा चोट लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । ‘ट्रकले बाटो ‘ब्लक’ गरेको विषयमा २ जना चालकबीच विवाद भएछ । त्यसपछि ट्याक्टर चालकले लाट्ठीले ट्रक चालकको टाउकोमा प्रहार गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।
ट्रक चालकको टाउकोको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ट्रक चालक दोङमाथि आक्रमण गर्ने ट्याक्टर चालक कामतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । सुरुमा फरार भएका कामतलाई प्रहरीले खोजी गरेर पक्राउ गरेको हो ।