मोरङ २१ असार ः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास गर्न सक्ने बताउनु भएको छ।
राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उहाँले जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेण्डालाई कार्यान्वयन गरिने प्रष्ट पार्नुभयो ।
अध्यक्ष लिङदेनले पार्टीको संगठन शहरदेखि गाउँसम्म निर्माण गरी जनताको समस्या समाधानतर्फ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
उहाँले राप्रपा मुलुकको एक मात्र प्रजातान्तिक पार्टी भएकोले गाउँको एउटा ठिटो केन्द्रीय अध्यक्ष बन्न सफल भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने बताउनु भयो ।
पार्टीका महामन्त्री प्रल्हादप्रसाद साहले मध्यावधि निर्वाचन जहिले पनि हुनसक्ने भएको कार्यकर्ताहरु जनताको घरदैलोमा जान आग्रह गर्नुभयो ।
पार्टीका प्रदेश अध्यक्ष राम थापा,जिल्ला अध्यक्ष गोपाल कटुवाल र मनोज बस्नेत लगायतले जनतालाई सर्वोपरी मानी कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष लिङ्देनले पत्रकार अशोक पौडेलद्वारा लिखित पत्रकारितामा जीवनको तीन दशक भाग –१ सार्वजनिक गर्नु भएको थियो ।
जनताले अनुभूति गर्ने विकास निर्माण गर्नु पर्छ–राप्रपा अध्यक्ष लिङ्देन







































































