विराटनगर, भदौ ८
महिलाहरुको महान चाड तिजको विशेष अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले ‘तिज विशेष महिला बीमा साक्षरता कार्यक्रम’ आयोजना गरेको छ। राधेश्याम महिला समूह विराटनगरका सदस्य तथा विभिन्न बीमा कम्पनीका महिला प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रम महिला सशक्तिकरण र बीमा सचेतनाको दृष्टिले महत्त्वपूर्ण भएको आयोजकले जनाएका छन्।

कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयकी प्रमुख प्रीति देवले बीमाको महत्त्व, वित्तीय सुरक्षामा यसको भूमिका र महिला सहभागिताको आवश्यकता विषयमा प्रस्तुति दिएकी थिइन्। कार्यक्रममा सहायक निर्देशक पुष्पा खनालले सञ्चालन गर्दै बीमा क्षेत्रलाई महिलामैत्री बनाउन प्राधिकरणले अघि सारेका गतिविधिहरूलाई विशेषत: तिज पर्वकै सन्दर्भमा जोडेर प्रस्तुत गरिन्।

सो कार्यक्रममा राधेश्याम महिला समूहकी अध्यक्ष सुस्मा घिमिरे प्रमुख अतिथि रहेकी थिइन्। उनले बीमा सचेतना कार्यक्रम महिलाहरूलाई अझ आत्मनिर्भर र सुरक्षित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा सहभागी महिलाहरूले बीमा सम्बन्धी जानकारीसँगै तिज पर्वको रमाइलो उत्सव पनि मनाएका थिए। महिला सशक्तिकरण, बीमा सचेतना र तिजको रंगीन माहोलले कार्यक्रमलाई विशेष बनाउन सहयोग पुगेको सहभागीहरूले बताए।

नेपाल बीमा प्राधिकरणले महिला सशक्तिकरणलाई आफ्नो प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया