दशैं लक्षित प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘बलिदान’ ले आफ्नो ट्रेलर सार्वजनिक गरेसँगै दर्शकमाझ चासो थपिएको छ।

सार्वजनिक ट्रेलरमा मुख्य नायक समीर भट्टको दमदार अभिनय र एक्सन देखाइएको छ। निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको यस चलचित्रले देशभक्तिको कथा बोकेको छ। असोज १३ गते फूलपातीका दिनदेखि रिलिज हुने यो फिल्मलाई दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।

फिल्ममा समीर भट्टसँगै ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, कविता राय, सन्तोष सेन लगायतका कलाकारको अभिनय देख्न पाइनेछ।
लेखक दर्शन जीको लेखनमा बनेको यस चलचित्रलाई पवन ब्राडफोर्ड विष्टले निर्माण गरेका हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्।
टेक्निकल टिममा महेश पौडेल (डीओपी), सुजन चापागाईं (संगीत), स्टनर साम्बा र श्री श्रेष्ठ (एक्सन), सुनिल क्षेत्री (कोरियोग्राफी), सञ्जय साक्ला र सन्देश शाह (सम्पादन) रहेका छन्।

ट्रेलरमा आमाको माया र मातृभूमिप्रतिको समर्पण मिसिएको छ। देश र माटोको रक्षा गर्न एक सपुतले गरेको बलिदानको कथा उठान गरिएको छ। नायक समीर भट्टको एक्सन गज्जब देखिएको छ भने उनले अभिनयमा समेत विशेष मेहनत गरेको देखिन्छ।

सौगात मल्ल र समीर भट्टबीचको सम्बन्ध अझै खुलाइएको छैन, तर उनीहरूबीचको टकराव दर्शकका लागि फिल्मको विशेष आकर्षण बन्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया